शनिबार देशभर श्रृंखलाबद्धरुपमा सवारी दुर्घटना, कहाँ के भयो ?

शनिबार देशभर श्रृंखलाबद्धरुपमा सवारी दुर्घटना, कहाँ के भयो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

जिप दुर्घटना हुँदा १४ जना घाइते

जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा १ ज ६२४ नं. को जिप शनिबार पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिनुभयो । जिपमा २५ जना सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिप चालक फरार छन् ।

बसको ठक्करबाट एकको मृत्यु

यता दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताउनुभयो ।

दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

यस्तै सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उहाँको मृत्यु भएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एघार घाइते

धादिङबेंसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदूर बोकेको ट्याक्टर पल्टिँदा शनिबार ११ मजदूर घाइते भएका छन् । नव कातिन्पुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा ना ६ त २७८० नं को ट्र्याक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

तीव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइ घुम्तीमा पछिल्लो भाग पल्टिएपछि मजदूर सबै घाइते भएका हुन् । घाइतेमध्ये जाजरकोटको छेडागाउँ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेँसीस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । यस्तै जाजरकोटबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० मजदूरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनामा २१ घाइते

बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।

गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’को तयारी भएको उहाँले बताउनुभयो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा बिहान ३ बजे दुर्घटनामा परेको हो ।

बसका चालक फरार रहेका छन् । सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो ।
रासस

Logo