पौराणिक काल । एकजना ब्राह्मण थिए, नाम थियो विल्मंगल । उनकी श्रीमती पनि थिइन्, सन्तानचाहिँ थिएनन् । उनको जीवन सामान्य तरिकाले चल्दै थियो, विशेष उल्लेखनीय केही थिएन । तर …. एक दिन यस्तो घटना घट्यो कि सारा संसार फेरियो ।
एक दिन विल्मंगल कतै गएर घर फर्कंदै थिए । बाटोमा एउटी अति सुन्दरी युवतीसँग उनी ठोक्किए । यस्सो मुन्टो उठाएर हेरे । अनिन्द्य सुन्दरी देख्दा उनी हतप्रभ भए । उनको शरीरमा अचम्मको मीठो तरंग सरर्र फैलियो । गाला राता भए । अकमक्क परे ।
विल्मंगलका अगाडि साक्षात् रती झैं कोमलांगी थिइन् । सुन्दर मुखाकृति, मिलेको चेहरा, गुलाबी ओठ, टम्म मिलेका दाँत, पुष्ट तन, आकर्षक कम्मर, लरक्क र सरक्क परेको कपाल जुन हावाको सर्सराहटसँगै मन्दमन्द उडिरहेको थियो । शरीरबाट निस्केको अत्तरको खुस्बु उत्तिकै मादक थियो । विल्मंगलले लामो सास ताने ।

विल्मंगल केही हच्किए । त्यहाँबाट मोडिन चाहे तर कहिल्यै त्यस्तो सुपुष्ट शरीरको दर्शन नपाएका आँखाहरू मरिगए त्यहाँबाट हट्न मानिरहेका थिएनन् ।
विल्मंगलको मन दुई भागमा विभक्त भो । उनले घरपरिवार बिर्से, श्रीमती बिर्से, आफैंलाई पनि बिर्से । घरकी पतेराले चुसेजस्ती ख्याउटी श्रीमतीसँग रमाइरहेको अतृप्त कामनाले उनलाई ज्वरो फुटायो । शरीरमा कम्पन पैदा भो । ती युवतीसँग कहिल्यै नछुट्टिऊँ, तिनकै बाहुपाशमा लट्ठ भइरहूँ भन्ने भावना जागृत भयो । मनका सबै कामनाहरू भोगको कामनासँग जोडिएर अकस्मात् प्रज्वलित भए । उनी बेसुध भएर ती युवतीलाई नियालिरहे ।
विल्मंगल पनि कुरूप थिएनन् । उनको रूपलावण्य धेरै नै आकर्षक नभए पनि कदकाठी र शारीरिक अवस्था एउटी युवतीलाई आकर्षित गर्ने हदसम्म पर्याप्त नै थिए । हुन त हिन्दीमा एउटा भनाइ नै पनि छ –‘कौवे पर दिल आ गई तो इन्द्र भी बेकार है ।’ भयो पनि त्यस्तै । ती सुन्दर युवतीले पनि विल्मंगललाई आफ्नो मनमा सजाइन् । उनी मन्द मुस्कान फालेर त्यहाँबाट अलप भइन् ।
विल्मंगल ट्वाँ परेर हेरिरहे ।
केही बेरपछि विल्मंगलको होस फर्क्यो । झल्याँस्स भए । अगाडि ती देवलोककी अप्सराजस्ती सुन्दर युवती थिइनन् । उनी आफ्नो घरबार बिर्सेर ती युवतीको सोधखोजतिर लागे । उनले पत्ता लगाए, युतीको नाम चिन्तामणि रहेछ, उनी त्यस शहरकी नामूद वेश्या रहिछन् । अनि त के चाहियो र, विल्मंगल चिन्तामणिको ठेगाना पहिल्याएर त्यहाँ पुगिछाडे ।
आज विशेष दिन । विल्मंगल सजिएर पुगेका छन् प्रेयसीको काखमा । उता चिन्तामणि पनि प्रसन्न छिन्, जवान पुरुषको सान्निध्यमा । वर्षौँको निरस दिनचर्याबाट निवृत्त भएर फरक खालको रसास्वादन गर्दै थिए दुवै । वातावरण पनि उत्तेजक । कामोत्तेजक सुगन्ध फैलिरहेको चारैतिर । दुई शरीर एक भएका । प्रेमको प्याला पिउनमा मस्त त्यो जोडी आफैंलाई बिर्सिदै …स्वर्ग छुँदै थिए …। उनीहरू एकअर्कामा हराए, वासनाको तलमा पौडँदै प्रेमको दिव्य ज्योतिसम्म छुनपुगे ।

विल्मंगल चिन्तामणिसँगै बस्न थाले । उता श्रीमतीले पनि उक्त कुरा थाहा पाइन् । उनी गर्न नै के सक्थिन् र । विल्मंगलले उनलाई धोका दिएका थिए । तर तत्कालीन समयमा आजको जस्तो कानुन थिएन, समाज थिएन, चेतना पनि फरक नै थियो । पुष्ट शरीरको मोहमा फसेका विल्मंगल घर फर्कन चाहेनन् ।
एक दिनको कुरा हो । विल्मंगलको घरमा श्राद्ध तिथि नजिकियो । उनकी श्रीमती हविष्यका दिन पतिलाई लिन आइन् । घरमा आएर श्राद्ध गर्न अनुरोध गरिन् । विल्मंगल नमानेपछि रुँदै त्यहाँबाट हिडिन् । त्यस्तो दृश्य देखेर चिन्तामणिको हृदय द्रवित भयो । उनी नारी थिइन् स्वभावैले संवेदनशील । उनले विल्मंगललाई श्राद्ध गरेर आऊ भनेर घर पठाइदिइन् । चिन्तामणिका शरीरको मोहमा फसेका विल्मंगल सरासर घर गए । श्राद्ध सकियो । भोजनको काम सकिएपछि उनको मनले विस्तारै चिन्तामणिलाई सम्झन थाल्यो । अरूहरूले आज श्राद्धको दिन त कम से कम घरमै बस भनेर सुझाए । तर उनको मनले मानेन । जान तयार भए ।
अचानक आकाशबाट मुसलधारे वर्षा भयो । साँझको समय थियो । विल्मंगल घरबाट निस्किए । चिन्तामणिकहाँ जान खोला तर्नुपर्ने थियो । बाढीको कारणले खोला तर्ने स्थिति थिएन । तैरिएर आइरहेको एउटा मुढोको सहारा लिएर उनी पारि पुगे । मुसो चुटिए झैं चुटिएर उनी चिन्तामणिको घर पुगे ।
भारी वर्षाका कारण उनले दिएको आवाज चिन्तामणिले सुनिनन् । उनले चिन्तामणिसँग भेट्नको लागि छानाबाट प्रवेश गर्ने निर्णय गरे । दलानबाट तल झरिरहेको डोरीलाई समाएर छानानेरको झ्यानबाट घरभित्र छिरे अनि सुत्ने कोठासम्म पुगे ।
चिन्तामणि आज विल्मंगल आउन्नन् भनेर निदाइसकेकी थिइन् । विल्मंगलले शयन कक्षमा गएर बोलाएपछि उनको निद्रा टुट्यो । आफ्नो अगाडि विल्मंगललाई देखेर उनी चकित परिन् । स्त्रीलम्पट प्रेमीदेखि उनमा घृणा उत्पन्न भयो । रिसाउँदै भनिन्– ‘यो कुहिएर जाने मासुको लागि गरेको यो प्रेम, त्याग ईश्वरप्राप्तिका लागि, परोपकारका लागि गरेका भए तिमी कहाँ हुन्थ्यौ ???’
यो शब्दबाट विल्मंगलको कानमा ठोक्कियो । उनको मोह भंग भयो । सुन्दर शरीरप्रति मनमा आदरको भाव पैदा भयो । तृष्णा सर्लक्कै जल्यो । उनी फरक्क फर्किए…. हेर्दाहेर्दै विल्मंगल अँध्यारोमा बिलाए । तर… उनको यात्रा अब प्रकाशतर्फको थियो । उनी बल्ल वास्तविक प्रेमी भए ।
प्रस्तुति : नारायण उपाध्याय































प्रतिक्रिया