काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दाबी गरेका छन्। बानेश्वरमा बुधबार दिउसो प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि उनले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्न आफ्नो ध्यान हुने बताए।
प्रचण्डले आफूले चुनौतीको समयमा जिम्मेवारी पाएको बताएका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नमा मैले ध्यान लगाउने छु।’ उनले भने, ‘जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै र माननीयको विश्वास लिँदै संसदलाई जीवित राख्न, त्यहाँबाट जनता र राष्ट्रको पक्षमा मैले सबै तागत लगाउने छु, मलाई विश्वास छ अन्तत: हामी सफल हुनेछौं।’
बुधबारको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो। बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी थिए। नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएको छ। प्रचण्ड-नेपाल समूहको विघटित नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्रीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि बढाउन माग गरेको छ।अन्नपूर्णबाट































प्रतिक्रिया