काठमाडौं,
प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालीको महान् चाड वडादशैँको मुखमा चिनी, दूध, तरकारी लगायत खाद्य पदार्थमा मूल्यवृद्धि भएको विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएको छ ।
समितिको शुक्रबारको बैठकमा सांसदहरुले चाडपर्वको मुखमा बढी उपभोग गरिने वस्तुको मूल्य आकासिँदै जाँदा पनि सरकारले नियन्त्रण गर्न नसकेकामा आपत्ति प्रकट गर्नुभयो । समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले दशैँ, तिहार, छठ लगायत पर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ बनाउने उद्देश्यले प्रारम्भिक छलफल गरिएको बताउनुभयो ।
“दशैँसम्म मूल्यवृद्धि नगर्न सरकारलाई निर्देशन दिने तयारीमा छौँ, यसको तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र उभोक्तावादी संस्थाका अधिकारीसँग छलफल गरिएको हो”, उहाँले भन्नुभयो ।
बैठकमा सांसदहरु अमृतादेवी अग्रहरि, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, मुकुन्द न्यौपाने, सुजाता परियार लगायतले उपभोग्य वस्तुमा मूल्यवृद्धि तथा मिसावट बढ्दै गएकाले नियमन गर्नुपर्नेमा जोड दिनुभयो । भदौ २२ गतेपछि बैठकमा सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरिने समितिले जनाएको छ ।





























प्रतिक्रिया