प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए ।

१४ दिनसम्म सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री ओलीले विमानस्थलमा समसामयिक राजनीति र आफ्नो स्वास्थ्यबारे सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन्।
प्रधानमन्त्रीले सिंगापुरबाट दुई पटक भिडिओ कन्फरेन्सबाट मन्त्रीहरूसँग कुरा गरेका थिए। जसमध्ये पहिलो पटक भदौ १९ गते भएको भिडिओ कन्फरेन्सलाई मन्त्रिपरिषद बैठक भनिएको थियो। उपचारका लागि ओली गत भदौ ५ गते दोस्रो पटक सिंगापुर गएका थिए।
प्लाज्मा फेरिसस प्रक्रियाबाट गरिएको उपचारले काम गरेपछि प्रधानमन्त्री पूर्ण रूपमा निको भएर आज फर्किएको उनको स्वकीय सचिवालयले जनाएको छ।
ओलीसँगै उनलाई लिन सिंगापुर पुगेका नेकपा सचिवालय सदस्य वामदेव गौतम र विष्णु पौडेल पनि स्वेदश फर्किएका छन्। प्रधानमन्त्रीले बोलाएपछि पौडेल मंगलबार र गौतम बुधबार सिंगापुर गएका थिए।

प्रधानमन्त्रीसँगै भदौ ५ गते नै सिंगापुर गएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नीजि डाक्टरहरु दिव्या सिंह शाह र दिलिप शर्मा यसअघि नै नेपाल फर्किसकेका छन् । सुरुदेखि नै साथमा रहेका ओलीपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्य आज प्रधानमन्त्रीसँगै आएका छन्।































प्रतिक्रिया