काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ ।
जागरण अभियानका बारेमा जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान बिपी कोइरालाको १०६ औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने बताउनुभयो । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् ।
जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गरिनेछन् । जस अनुरूप हरेकक्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिने उहाँले बताउनुभयो । काङ्ग्रेसले प्रथम चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो । जागरण अभियानको प्रथम चरण वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । एक महिने प्रथम चरण पश्चात् दोस्रो चरण १५ दिनको रहेको छ ।
प्रवक्ता शर्माले भन्नुभयो, “अभियानको औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तरक्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारित छन् ।”
काङ्ग्रेसको नयाँ विधान अनुसार क्षेत्रीय कमिटी
नेपाली काङ्ग्रेस सुर्खेतले पार्टीको नयाँ विधान अनुसार क्षेत्रीय कार्य समितिलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय प्रतिनिधि एवं डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष दुर्गाप्रसाद सापकोटाको उपस्थितिमा सङ्घीय निर्वाचन क्षेत्र नं १ र २ का पदाधिकारी चयन भएका हुन् ।
निर्वाचन क्षेत्र नं १ को सभापतिमा खड्कबहादुर पोखरेल चयन हुनुभएको छ । क्षेत्र नं १ को सहसभापतिमा ताराकेशर खड्का र उमालाल पाण्डे, सचिवमा भूपेन्द्र सुवेदी, कोषाध्यक्षमा दुर्गबहादुुर खत्री, सहसचिवमा मोहन राना र वीरबहादुर वली रहनु भएको छ । केन्द्रीय प्रतिनिधि सापकोटाले साविकका दुवै कमिटीका क्षेत्रीय सदस्यहरुसहित ४९ सदस्यीय कार्य समिति चयन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै, क्षेत्र नं २ मा लालवीर भण्डारी सभापति चयन हुनुभएको छ । सहसभापतिमा नारायण कोइराला र कर्णबहादुर बुढा, सचिवमा कृपा थापा, गणेश पन्त, अम्मर दानी, कोषाध्यक्षमा नेत्रबहादुर शाही र सहसचिवमा भूवनसिंह सिजापति चयन हुनुभएको नेपाली काङ्ग्रेस सुर्खेतले जनाएको छ ।
रासस































प्रतिक्रिया