शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने

शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रियामा कडाइ गरेको छ । यसअघि भएको व्यवस्थाले प्रतिस्पर्धी व्यक्ति शिक्षण पेसामा आउन नसकेको गुनासो बढेपछि नयाँ व्यवस्था ल्याइएको हो ।

नयाँ व्यवस्था भएको शिक्षक सेवा नियमावलीको दशौं संशोधन मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो । शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा केही समय अघि मन्त्रिपरिषदमा पेस गरेको थियो । स्थायी शिक्षकका लागि प्रतिस्पर्धा गर्नेले दुई चरणमा परीक्षा दिनुपर्ने भएको छ ।

सम्बन्धित उम्मेदवारले दुवै चरणको परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तर्वार्तामा बस्न पाउनेछन् । नयाँ व्यवस्था अनुसार अबदेखि शिक्षकको परीक्षा दुई सय पूर्णांकको हुनेछ । यसअघि सय पूर्णांकको मात्र लिखित परीक्षा हुन्थ्यो । सय पूर्णांकको वस्तुगत परीक्षा उत्तीर्ण गरेपछि मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी गराइनेछ ।

विषयगत परीक्षा पनि सय पूर्णांकको हुने मन्त्रालयका विद्यालय प्रशासन महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले बताए। वस्तुगत परीक्षामा परीक्षार्थीले ल्याएको कुल अंकको ५० प्रतिशतलाई मात्र विषयगत परीक्षाको उत्तीर्णांकसँग जोडिनेछ। तर, पहिलोचरणको वस्तुगत परीक्षामा उत्तीर्णांक कति राख्ने भन्ने विषयमा भने थप छलफल गरेर निर्णय गरिने काप्रीले बताए । उत्तीर्णांक ५० हुने सम्भावना बढी रहेको उनले बताए ।
अन्नपूर्णबाट

Logo