शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाँचियो

शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाँचियो

केन्द्रबिन्दु
0
Shares

भद्रपुर,
शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एकजना विद्यार्थीको खुट्टा भाँचिएको छ ।

झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो ।

अर्जुनधारा नगरपालिका –८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडितले बताए । घटना बिहिबारको हो । कक्षा–७ को तेस्रो घण्टी पढाउन प्रधान कक्षा कोठामा प्रवेश गरे । सो बेला केही बिद्यार्थीले बाथरुमको धाराको पानी बोतलमा भरेर शिक्षकको पोडियममा राखिदिएका थिए । सो पानी शिक्षकले पिएका थिए ।

त्यसपछि बिद्यार्थीहरु हाँस्न थाले । शिक्षकले किन हाँसेको भनेर सोधे । बिद्यार्थीले बाथरुमको पानी सरले खानुभयो भनेपछि शिक्षक आक्रोशित भएको पीडितले बताए । सबै बिद्यार्थी पुनः हाँस्न थाले । ति मध्येबाट बिद्यार्थी गट्टानीलाई अगाडी ल्याएर शिक्षक प्रधानले गालामा थप्पड हाने । त्यति गर्दा पनि रिस नमरेपछि उनले घाँटीमा समातेर बेञ्चमा पछारेपछि बिद्यार्थीको देब्रे खुट्टा भाँचिएको पीडित बिद्यार्थीले बताए ।

कनकाई हस्पिटलमा उपचारपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा अहिले पीडित बालकको घरमा उपचार भइरहेको गट्टानीले जानकारी दिनुभयो । छोरालाई मार्ने नियतका साथ कुटपिट भएको रहेछ, पीडित बालकका बाबु किसनले भने – ‘भाग्यले बाँच्यो ।’ बिद्यालयले बालकको निगरानीका लागि नर्सको ब्यवस्था गर्ने, उपचारमा लागेको सम्पूर्ण खर्च ब्यहोर्ने, घरमै शिक्षकको ब्यवस्था गरेर अध्ययनको ब्यवस्था गर्ने, बालकलाई अर्कै विद्यालयमा अध्ययनको ब्यवस्था गर्ने र त्यसको शुल्क बिद्यालयले तिर्नेगरी सहमति गरिएको पीडितका बाबु गट्टानीले बताए ।

अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र विद्यालय सञ्चालकको बैठकले विद्यार्थीको खुट्टा भाँच्ने शिक्षक प्रधानलाई भने उन्मुक्ति दिएको छ । पीडित परिवारलाई दवाव दिएर सहमति गर्दै विद्यालयले प्रधानलाई उन्मुक्ति दिएको हो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo