-
कृष्णसिंह धामी ।
भक्तपुर । ‘म होटलमा भाँडा माझेर भए पनि काठमाडौंमै बसेर पढ्ने हुँ । तपाईहरूले स्वीकृति दिए/नदिए पनि काठमाडौं गएरै छाड्छु ।’ यो अडान धादिङ गजुरीकी गीता रिजालको हो । आजभन्दा करिब ७ वर्ष अघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउने अडान राख्दा आमाबुबाले जे गरे पनि यहीँ बसेर गर्नु, यहाँभन्दा बाहिर गएर पढ्न तथा केही गर्न पाइँदैन भनेका थिए । यो बाबुको निर्देशन मात्र नभएर फाइनल डिसिजन पनि थियो । तर गीता बाबुको आदेश अवज्ञा गर्दै काठमाडौं छिरिन् ।
काठमाडौं आएपछि गीताले पढाइलाई अगाडि बढाइन् । पढाइसँगसँगै उनले विकास स्रोत परिचालन केन्द्रमा काम गर्न थालिन् । त्यहाँ उनले करिब ३ वर्ष बिताइन् । त्यो तीन वर्षमा उनले कृषिसम्बन्धी धेरै कुरा सिकिन् । यो ७० सालतिरको कुरा हो । उनले आफूले जानेको सीप प्रयोग हुनेगरी कृषि व्यवसाय सुरु गर्ने योजना बनाइन् । त्यसपछि उनले जागिर छोडिन् । आफ्नो योजना अघि बढाउनका लागि गीताले घर परिवारसँग सल्लाह गरिन् । आमाबुबाले उनको कुरा ठाडै अस्वीकार गरिदिए । ‘खेती नै गर्ने भए किन काठमाडौं गएकी, यतै पनि प्रशस्तै जग्गा छ । यहीँ आएर काम गर्’ भन्ने जवाफ आमाबुबाबाट आयो । उनले दोस्रोपटक पनि आमाबुबाको कुरालाई बेवास्ता गरिन् ।

गीतालाई कृषि व्यवसाय गर्ने प्रेरणा गोदावरीको एउटा फार्मबाट मिलेको हो । उनी भन्छिन्, ‘म गोदावरीको एउटा फार्ममा पुगेँ । आधुनिक तरिकाले खेती गरेको कहीँ पनि देखेकी थिइन । डोरी लगाएर गोलभेँडा फलाएको देखेँ । म गएको दिन गोलभेडा टिप्ने बेला रहेछ । अनि मैले यो भर्खरको फल हो भनेर सोधेँ। त्यसपछि उनीहरूको जवाफ सुनेर म त छक्क परेँ । चार लाखको गोलभेँडा बेचिसकियो भनेको सुन्दा मेरो आश्चर्यको सीमा रहेन । अनि ममा पनि यस्तै काम सुरु गर्नुपर्छ भन्ने प्रेरणा जाग्यो ।’
२०७० माघ १ गतेबाट १८ लाख रुपैयाँको लगानीमा भक्तपुरको सिरूवाटार, बस्नेतगाउँमा गीताको कृषि व्यवसाय सुरु भयो । गीता भन्छिन्–‘त्यो १८ लाख टनेल बनाउन, बस्ने घर, इनार, कृषिजन्य सामग्री खरिदमा खर्च भयो । उक्त रकम मैले आफन्त तथा साथीभाइबाट जुटाएकी थिएँ । त्यो बेला बैंकले मलाई विश्वास गर्ने वातावरण नै थिएन ।’
सुरुमागीताले ६ रोपनी जग्गा भाडामा लिएर काम थालिन् । मैदानमा त होमियो त्यसपछि भने विभिन्न समस्या आइलाग्न थाले । उनी काठमाडौंमा बसेर पढ्थिन् । पद्मकन्या कलेजमा भर्खरै स्नातक पढ्न थालेकी गीतालाई पढाइसँगै कृषि व्यवसाय अघि बढाउनु निकै चुनौती थियो ।

गीता हरेक चुनौतीको सामना गर्दै अघि बढिन् । व्यवसाय गरेको पहिलो वर्ष त्यति धेरै ज्ञान थिएन तर पनि राम्रै भयो । पहिलो वर्षमात्र उनले १४ लाख रुपैयाँको तरकारी बेचिन् । त्यसपछि उनलाई यो व्यवसायबाट पनि राम्रै गर्न सकिने रहेछ भन्ने लाग्न थाल्यो । दोस्रो वर्षदेखि उनी काठमाडौंको कोठा छोडेर फार्ममै बस्न थालिन् । आफूले सिकेको सीपलाई एकदमै जिम्मेवारीका साथ खेतबारीमा खन्याइन् । जसले गर्दा दोस्रो वर्ष पनि राम्रै भयो ।
गीताले यहाँसम्म आइपुग्दा निकै समस्याको सामना गर्नु परेको थियो । एकातिर घर परिवारको सपोर्ट थिएन भने अर्कोतिर समाजबाट बेला बेला आउने कुराले पनि उनको चित्त दुख्थ्यो । ‘यहाँसम्म आइपुग्दा निकै संघर्ष गर्नुपर्यो । अर्काको जागीर खानुभन्दा यो काम सजिलो लाग्दा काममा त्यति गाह्रो भएन । मैले यसलाई सहज नै लिएँ । यद्यपिमलाई परिवारबाट अहिले पनि खुलेर सहयोग गरिएको अवस्था छैन।’
बहिनीको साथ
गीतालाई कृषि व्यवसाय गर्न बहिनी पार्वती रिजालको भने साथ र सहयोग छ । त्यसैले त कृषि फार्मको नाम नै दिदीबहिनी कृषि फार्म राखेका छन् । गीता भन्छिन्– ‘सुरुमा त बहिनीलाई पनि पठाउन मान्नु भएको थिएन । मैले होस् म एक्लै भए पनि बस्छु र काम गर्छु भनेपछि बहिनीलाई मसँगै पठाउन तयार हुनुभयो । पछि मैले राम्रो गर्दै गएपछि बुबाआमाले पनि थाहा पाउनुभयो । यहाँ आएर हेर्नुभयो । खुसी नै हुनुभयो । विस्तारै सबै ठीक होला ।’

गीता त्यो क्षेत्रमा यसरी आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसाय गर्ने पहिलो किसान हुन् । उनकै सिको सिक्दै अहिलेसम्म एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा कृषि व्यवसाय सञ्चालित छ । उनी भन्छिन्– ‘लामाटारमा यसरी व्यवसाय गर्ने म पहिलो किसान हुँ । त्यसमा पनि युवा र महिला भनेपछि सबैबाट राम्रै प्रतिक्रिया पाइरहेकी छु । आफूले अँगालेको पेसा वरिपरिका सबैलाई अँगालेको देख्दा निकै खुसी लाग्छ । अहिले आएर राम्रै काम गरेछु जस्तो लाग्छ ।’
गीतालाई आफूले गरेको कामप्रति अत्यन्तै खुसी लाग्ने कुरा त अर्को पनि छ । उनले गरेको व्यवसायबाट प्रभावित भएर विदेशमा रहेका नेपालीहरूले समेत स्वदेश फर्किएपछि कृषि व्यवसाय नै अँगाल्ने भनिरहेका छन् । विदेशमा रहेका धेरै नेपालीले चासो राख्ने गरेका छन् । एकजना महिलाले त विदेशमा रहेका श्रीमानलाई घर बोलाइसकेकी छन् । अहिले गीताकै फार्ममा काम सिकिरहेकी एक महिलाले श्रीमान् नेपाल फर्किएलगत्तै आफ्नै व्यवसाय गर्ने सोच बनाएकी छन् ।
भनेजस्तो सजिलो कहाँ छ र….
बाहिर सोचेजस्तो काम गर्न सजिलो कहाँ हुन्छ र ? काम गर्न त दुखै गर्नुपर्छ । त्यसमा पनि कृषि व्यवसायमा झन् दुःख छ । धान मकै लगाएजस्तो होइन । यो काममा रातदिन, घामपानी भोक तिर्ख केही नभनी खटिनुपर्छ । ‘यसमा बच्चालाई भन्दा बढी स्याहार गर्नुपर्छ । यो कामको लागि अलि पढेकै मान्छे चाहिन्छ । नपढेको वा अन्धाधुन्ध गर्नेले सक्दैन । मौसमले बालीलाई निकै प्रभाव पार्छ । वर्षात्को सिजनमा थप समस्या हुन्छ । त्यो बेला त अर्को सिजनमा छोडिदिन्छ भन्ने हुन्छ । तर जब उत्पादन सुरु हुन्छ । कमाइ आउँछ नि अनि त्यो सबै बिर्सेर फेरि काम गर्न मन लाग्छ ।’ यो उनको अहिलेसम्मको अनुभव हो ।

गीता सुनाउँछिन्– वर्षात्को समयमा तरकारी बाली जोगाउनै गाह्रो । रातभर नसुतेर पनि काम गर्नुपर्छ । प्लाष्टिकमा पानी भरिन्छ, भेल आउँछ, कता कताबाट पानी भित्र छिर्छ । फलेको बेला पानी छिर्यो भने बाली नै सखाप हुन्छ । विरूवा रोपेको दुई महिना त निकै दुःख हुन्छ । वर्षात् तथा हावाहुरीको समयमा निकै समस्या हुन्छ । टनेलमाथि राखिएको प्लाष्टिक उडाउने, टनेल नै भत्काइदिनेजस्ता समस्या हुने गरेका छन् । तर पनि हामी दिदिबहिनी त्यस्ता समस्यासँग जुध्दै आएका छौँ ।
व्यवसाय सुरु गरेपछि गीताले दशैं, तिहार, तीजजस्ता चाडपर्व पनि मनाउन पाएकी छैनन् । दशै तिहारजस्ता चाडपर्वको बेला समेत घर जान पाइँदैन । अनि यहाँका मान्छेहरूले टीकाको दिन पनि किन घर नगएको ? तपाईहरूको आमाबुबा छैनन् हो ? भन्दै प्रश्न गर्छन् । त्यो बेला भने एकदमै नरमाइलो लाग्छ । हामी आमाबुबा नभएर नगएको त होइन, व्यवसाय छोडेर जान नमिलेको मात्र हो । तर त्यो उहाँहरूले बुझ्नुहुन्न ।
गीताले पढाइ र व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाएकी छन् । उनी कांग्रेसप्रति आस्थावान हुन् । पार्टीका विभिन्न गतिविधिहरूमा सहभागी हुन्छिन् । नेविसंघको विद्यार्थी नेता भएकाले उनलेविद्यार्थी हकहितको लागि आवाज उठाउँदै आएकी छन् । जीवनमा आवश्यक पर्ने सबै पाटाहरूलाई अगाडि बढाउने उनको योजना छ ।
कृषिमै पिएचडी गर्ने सोच:
गीता आफूले अँगालेको व्यवसायमा पूर्ण दक्षता हासिल गर्न चाहन्छिन् । त्यसको लागि उनले कृषिमै पिएचडी गर्ने सोचमा छिन् । त्यसको लागि उनले घरमा बसेरै स्किल टेस्ट दिइरहेकी छन् । अहिलेसम्म उनले लेभल २ उत्तीर्ण गरिसकेकी छन् । यस्तो स्किल टेस्ट लेभल ८ सम्म पास गरेपछि पिएचडीको उपाधी पाइन्छ ।
‘कृषिबाट लेभल ८ सम्मै स्किल टेस्ट दिन्छु । लोकसेवाको पनि तयारी गरिरहेकी छु । यो पेशालाई त निरन्तरता दिने हो । जीवनमा जस्तोसुकै परिस्थित आइपरे पनि यो पेशालाई सधै अगाडि बढाउँछु । बुबाआमाले कृषि पेशा नगर भन्दा त घरै छोडेर हिडेको मान्छेले यो पेशालाई त्यति सजिलै छोड्ने त कुरै हुदैन नि ।’ यति भन्दै गर्दा गीताको अनुहारमा चमक छाउँछ ।
सरकारबाट पाउने अनुदानमा विश्वास गर्दिनन्

गीताले सुरूमै लगानी गरेको १८ लाख रुपैयाँ बैंकबाट नभई साथीभाइ तथा आफन्तबाट जुटाएकी हुन् । बैंकमा ऋणको लागि धाउँदा धाउँदै उनी थाकेकी छन् । ‘बैंकमा ऋण लिन पनि नजाने, राख्न पनि नजाने भनेर एकताका बसेकी थिएँ । गजुरीमा मेरो नाममा रहेको जग्गा धितो राख्दा ऋण पाएकी छैन ।
तर विदेशमा बस्ने साथीहरूले ‘ए नेपालमा त करोडौं रुपैयाँ कृषिका लागि भनेर ऋण पाइन्छ’ भन्छन् । तर आफूले भने यता केकस्तो दुःख गर्नुपरेको हुन्छ उनीहरूलाई थाहा हुदैन ।’ पछिल्लो दुई वर्षसम्म धाउँदा धाउँदा बल्ल आएर सिभिल बैंकबाट ९ लाख रुपैयाँ ऋण पाएकी छन् । यो वर्ष प्रदेश सरकारले पनि स्ट्रवेरी रोप्न भन्दै ५ लाख रुपैयाँ अनुदान दिएको छ ।
आम मानिसहरूको मनमा सरकारी अनुदान नजिकका आसेपासेहरूले मात्र पाउँछन् भन्ने छ । तर गीतालाई यो भनाइ गलत लाग्छ । उनी भन्छिन्, ‘सरकारी अनुदान जसले काम गर्छ उसले पाउँछ । हाम्रो समाजमा अझै पनि पक्ष विपक्षवाले मात्र पाउँछन् भन्ने छ । नेकपाको सरकार हुँदा उनीहरूका कार्यकर्ताले मात्र पाउने, कांग्रेसको सरकार हुँदा कांग्रेसका कार्यकर्ताले मात्र पाउँछन् भन्ने हाम्रो सोचाइ गलत हो । जसले काम गर्छ उसले जसको सरकार भएपनि पाउँछ ।’
गीतालाई एकताका स्वरोजगार कार्यक्रम अन्र्तगत ४० हजार अनुदान आएको थियो । तर त्यो पैसाउनले बुझिनन् । ‘मेरो १८ लाख लगानी भएको छ । ४० हजारले के गर्ने ? यो मलाई दिनुभन्दा बरु साना किसानहरूलाई दिए हुन्छ भन्दै फर्काइदिएँ ।’उनले भनिन् ।
विवाह त गर्नैपर्छ !

२७ वर्षको युवाअवस्थामै उनी करोडपति व्यवसायी बनिसकेकी छन् । वार्षिक १० औं लाख रुपैयाँ कमाउने गीता अहिलेसम्म अविवाहित नै छिन् । उनका ७ दिदीवहिनीमध्ये जेठी दिदीको विवाह भइसक्यो । बाँकी ६ दिदीबहिनी र सबैभन्दा कान्छो भाइको विवाह गर्न बाँकी छ । उनीहरूको सबैभन्दा कान्छो भाइयतिबेला एचए पढ्दैछन् । उनको खर्च समेत गीताले नै व्यहोर्छिन् ।
गीताले अन्य दिदीबहिनीको पढाइ खर्चसँगै घरमा आमाबुबालाई समेत हेर्ने गरेकी छन् । उनलाई घरको सबैभन्दा जेठो दाइ वा छोरा भन्दा पनि फरक पर्दैन । हाम्रो समाजमा आमाबुवापछिको जिम्मेवारी सबैभन्दा जेठो छोरोमा आउने गर्छ । त्यसैगरी गीताले पनि त्यो जिम्मेवारी वहन गरेकी छन् ।
यसो गरिरहँदा के गीताले विवाहको बारेमा सोचिकी छैनन् ? हाम्रो प्रश्नमा उनको जवाफ हुन्छ, ‘विवाह त गर्नै पर्यो । तर विवाह गरे पनि यो व्यवसायलाई निरन्तरता दिन्छु । विवाह गरेपनि यही पेशालाई निरन्तरता दिने र आफूलाई सहयोग गर्ने जीवनसाथी खोज्छु ।’ गीताले व्यवसाय सुरु गरेपछि धादिङमा २० लाख रुपैयाँभन्दा बढीको जग्गा किनिसकेकी छन् ।
त्यस्तै ६ रोपनीबाट सुरु गरेको व्यवसायलाई अहिले १० रोपनीमा पुर्याएकी छन् । यसलाई अझै विस्तार गर्ने उनको योजना छ । गीता र पार्वती दुवै दिदिबहिनीले मेहेनत गरे नेपालमै हीरा फलाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, त्यसका साथै महिलाले केही गर्न सक्दैनन् पुरातन सोचमाथि समेत औंला ठड्याएका छन् ।































प्रतिक्रिया