जापान,
जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका खुलेको छ । तर त्यसमा सवार ३४० जना यात्रुहरूमध्ये कोही हताहत भने भएनन् ।
ढोका खुलेको थाहा भएपछि रेललाई आपतकालीन रूपमा रोकिएको थियो । त्यसो गर्दा हायाबुसा नम्बर ४६ भनिने तीव्र गतिको उक्त रेल एउटा सुरुङ्भित्र १५ मिनेट रोकिन पुगेको थियो ।
कसरी त्यस्तो भयो ?
द इस्ट जापान रेलवे कम्पनीका अनुसार सफा गर्ने कर्मचारीले रेलको ढोका हातैले खोल्न सकिने एउटा उपकरण बन्द गर्न बिर्सिएका थिए । जापानी सञ्चारमाध्यमहरूका अनुसार उक्त रेल ढोका खुलेपछि चार किलोमिटरसम्म गुडेको थियो । त्यसक्रममा त्यसको गति घटाउँदै लगियो । तर कोही पनि यात्रु खुला भएको ढोका नजिक थिएनन् ।
निक्केई पत्रिकाका अनुसार उक्त रेल टोकियोमा निर्धारित समयभन्दा झन्डै १९ मिनेट ढिलो आइपुगेको थियो । त्यसले अन्य थप तीन हजार यात्रुको तालिका प्रभावित भएको थियो ।
जापानी सञ्चारमाध्यमहरूमा जनाइए अनुसार त्यहाँको राष्ट्रिय यातायात मन्त्रालयले सो रेल कम्पनीबाट अब आइन्दा त्यस्तो अवस्था नदोहोर्याउने सुनिश्चितता खोजेको थियो । जापानमा सिन्कान्सन भनिने तीव्र गतिका रेलहरू लोकप्रिय छन् । बुधवार समस्याग्रस्त भएको रेलको उच्चतम गति प्रतिघण्टा ३२० किलोमिटरसम्म छ ।
बीबीसी































प्रतिक्रिया