नेकपा सचिवालय बैठक आज पुनः बस्दै

नेकपा सचिवालय बैठक आज पुनः बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
बुधबारको बैठकमा भएका छलफलका विषयलाई बिहीबारको बैठकमा पूर्णता दिइने गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बिहान ८ बजे बस्ने भएको छ ।

यस अघि नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले दर्ता गराउनु भएको असहमतिपत्रमा कुनै छलफल नभएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएन । ‘‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’’ पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराउनु भएको थियो । उहाँले केही निर्णय सच्याउन माग पनि गर्नुभएको थियो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन । बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नु भएको छ । त्यो छलफलको विषय बन्दैन । छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’’
गोरखापत्रबाट

Skip This
Skip This
Logo