संसद भवनमा ‘भिआइपी क्यान्टिन’, शहरी विकासमन्त्रीले गरे उद्घाटन

संसद भवनमा ‘भिआइपी क्यान्टिन’, शहरी विकासमन्त्रीले गरे उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ । करीब छ महिना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो ।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेना गृहको उद्घाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका बेला इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेर समयमै काम सम्पन्न हुन्छ भन्ने सन्देश चमेना गृहले दिएको बताए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय एवं सहकार्यले समयमै काम सम्पन्न भएको जानकारी दिए ।

सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ कुँवर जेभी निर्माणलाई रु दुई करोड ७८ लाखमा चेमना गृहको निर्माणका लागि ठेक्का दिएको थियो । ठेक्काअनुसार छ महीना अवधि भदौ ८ गते पूरा हुँदै थियो । करीब १० हजार ५५७ वर्गफिट क्षेत्रफलमा निर्माण भएको चमेना गृहमा १८६ जनासम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले बताए ।

मुस्लिम समुदायका लागिसमेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था चमेना गृहमा गरिएको छ । गृहमा भान्छा हल, भण्डार कक्षका साथै अति विशिष्ट व्यक्तिका लागि छुट्टै भोजन कक्षको समेत व्यवस्था गरिएको छ ।

Logo