सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौं सौराहा अभियान’

सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौं सौराहा अभियान’

केन्द्रबिन्दु
0
Shares

चितवन ।

कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौं सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवर्धनका लागि अभियान शुरु गर्न लागिएको हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा अभियान शुरु गरिँदैछ । सङ्घका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान शुरु गर्न लागिएको जानकारी दिए । आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम गरिँदैछ । अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उनले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न ‘घुमौं सौराहा अभियान’ शुरू गर्न लागेको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालु लगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरमा सौराहासँग सम्बन्धित प्रस्तुति, भिडियो र वन तथा वन्यजन्तुका तस्बिर प्रदर्शन गरिने बताए । उनले भने, “हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौँ ।” अभियान पहिलो चरणमा प्रदेश नं १ र २ एवं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिनेछ ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले नेपाल सरकारले सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहँदा यो कार्यक्रमले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अभियानलाई नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाले सहयोग गरेका छन् ।

गत वर्षहरुमा सङ्घले भारतीय सीमा क्षेत्रका शहरमा पुगेर यसरी नै पर्यटन प्रवर्धनका कार्यक्रम गर्ने गरेको थियो । कोरोना सङ्क्रमणका कारण यस वर्ष कार्यक्रम नेपालका शहरमा केन्द्रित गरिएको हो । गएको चैत पहिलो साताबाट बन्द भएका सौराहाका होटल, रेष्टुरेन्ट दशैंपछि खुलेका भए पनि पर्यटकको आगमन न्यून रहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए। उनले भने, “अहिलेको अवस्थामा आन्तरिक पर्यटकले पर्यटन उद्योग बचाउनुपर्छ ।” सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन् ।

Skip This
Skip This
Logo