काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा आज बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो । यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो । धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
बैठक बोलाइएको छैन : ओली समूह
यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको छ ।
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आइतबार प्रेस नोट जारी गरि हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ ।





























प्रतिक्रिया