किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज,

‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए । युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग छन् अहिलेपनि । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन् । तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन् । परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए ।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन् । २०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन । उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो ।

‘छोराको अवस्थाबारे धेरै खोजी ग¥यौं, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृत्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरिया गरेका थियौं । ’ उनका अनुसार बेपत्ता भएको तीन महिनापछि उनी मरेको सम्झेर किरिया गरिएको थियो ।

काजकिरिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन । उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन् । तर उमेशले पुराना सबै कुरा र घटनाक्रमबारे जानकारी गराएपछि आमाले भक्कानिँदै अंगालो हालिन् । ‘सुरूमा त मेरो छोरो आयो होला भनेर मैले विश्वासै गरिनँ तर उसले सबै कुरा भनेपछि मात्रै चिनें,’ आमा मनकुमारीले भनिन्, ‘खुसीले आँसु रोक्न सकिनँ । ’

उमेश एक्लै पनि आएका छैनन् । उनले छोराछोरी र पत्नीलाई पनि साथमा ल्याएका छन् । १६ वर्षको उम्मेरमा उनी माओवादीको ‘जनमुक्ति सेना’ मा सहभागी भएका थिए । उनी खारा लडाइँमा सहभागी हुँदा २० वर्षका थिए । विभिन्न ठाउँका लडाइँमा सहभागी उमेशले खारा युद्धमा घाइते भएपछि आफूलाई सबैले छोडेर गएको र बाँच्नका लागि भाग्दा–भाग्दा भारत पुगेको बताउँछन् ।
नागरिकबाट

Logo