पत्रकारिता जगत अहिले साँच्चिकै समस्यामा परेको छः काउन्सिल अध्यक्ष बस्नेत

पत्रकारिता जगत अहिले साँच्चिकै समस्यामा परेको छः काउन्सिल अध्यक्ष बस्नेत

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको तर पत्रकारिता क्षेत्रमा समस्या पर्दा साथ नदिएको बताएका छन्।

सोमबार प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले अहिले पत्रकारिता जगत समस्यामा परेको बताएका हुन्।

राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएर यो क्षेत्रको विकास र सम्बर्धनमा भने बेवास्ता गरेको बस्नेतको निश्कर्ष छ। ‘नेपाली पत्रकारिता साँच्चै अप्ठ्यारोमा छ। राजनीतिक नेतृत्वले सजिलैसँग हामी यो क्षेत्रको विकास र सम्वर्धनको लागि लाग्छौँ भनेको सुनिन्छ। सधैंभरी प्रयोगमात्रै गर्ने, आफूलाई अप्ठ्यारो र संकटमा परेको बेलामा साथ लिन खोज्ने, तर पत्रकारिता अप्ठ्यारोमा परेको बेला केही गर्न नसक्ने ठिक्क पर्यो भने जस्तै जस्तै भन्ने प्रवृति देखिएको छ। यसमा हामी गम्भीर हुनुपर्छ,’ अध्यक्ष बस्नेतले भने।

बस्नेतले पत्रकारिता नजोगिए सरकार र राजनीति समेत नजोगिने जिकिर गरे। ‘पत्रकारिता जोगिएमात्रै राजनीति जोगिन्छ सरकार पनि जोगिन्छ,’ उनले भने।

सरकारले अहिले कानून निर्माणको तहमा कतिपय गम्भीर खालका प्रावधानहरु पत्रकारितालाई समस्या पार्ने गरी ल्याउन लागेको भन्दै उनले यस्ता गतिविधि सरकारी तहबाटै हुन लाग्यो भने प्रेस चौतारीलगायतका संगठनहरु सजग बन्नुपर्ने बताए।

नयाँ मिडियाले पत्रकारितालाई चुनौती दिइरहेको बताएका बस्नेतले यसलाई चुनौतीसँगै अवसरका रुपमा लिएर पत्रकारितालाई विकास गर्नुपर्नेमा जोड दिए। त्यसका लागि प्रेस काउन्सिलले आवश्यक सहयोग गर्ने आश्वासन पनि उनले बताए।

कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस चौतारीले पुरस्कारका लागि छनोट गरेको पत्रकारको नाम सुन्दा र अनुहार हेर्दा निकै गर्व गर्न लायक भएको भन्दै छनोट समिति र संगठनका नेतृत्वलाई धन्यवादसमेत दिएका थिए।

Skip This
Skip This
Logo