सच्चा मित्र त्यही हो जसले निःशर्त साथ दिन्छ

सच्चा मित्र त्यही हो जसले निःशर्त साथ दिन्छ

केन्द्रबिन्दु
9
Shares

आज ४ अगस्ट । आज फ्रेन्डसिप डे अर्थात् मित्रता दिवस । हरेक वर्ष अगस्ट महिनाको पहिलो आइतवारका दिन यो दिवस मनाइन्छ ।
मित्रता त्यस्तो नाता हो जुन आफ्नो रोजाइमा, आफ्नै इच्छा र खुसीले छानिन्छ । जब कि दाजुभाइ, दिदीबहिनी वा अन्य रक्तसम्बन्धीहरू व्यक्तिले चाहेर चुन्न सक्दैन । यस हिसाबले मित्रताको नाता निकै महत्वपूर्ण छ ।

को व्यक्तिसँग मित्रता गाँस्ने र कोसँग नगाँस्ने भन्ने कुरा केवल आफ्नै रुचि र अरुचिमा निर्भर हुन्छ । नेपालमा पहिले मित लगाउने चलन निकै प्रचलित थियो । मरेपछि अन्त कतै बास नपाए पनि मितका घरमा बास पाइन्छ भन्ने लौकिक मान्यताका कारण मानिसहरू मित लगाउने गर्थे । आफ्नो सुखदुःखमा सबैभन्दा पहिले मितलाई नै सम्झने गरिन्थ्यो । अहिले त्यस्तो चलनमा मन्दी छाए पनि मित्रताको अर्थ र गरिमामा भने कुनै कमी आएको छैन ।

हाम्रा पौराणिक कथा कहानीहरूमा मित्रताका त्यस्ता अनेकौं उदाहरण छन् । तीमध्ये केही चर्चित मित्रताका उदाहरण हेरौँ,

दुर्योधन र कर्ण

प्रसिद्ध ग्रन्थ महाभारतका दुई पात्र दुर्योधन र कर्णको मित्रता अति घनिष्ट थियो । दुर्योधनले कर्णलाई कठिन समयमा आफ्नो प्रिय मित्र मानेर उचित मानसम्मान दिलाएका थिए । यसपश्चात् कर्णले हरदम छायासरह बनेर दुर्योधनलाई साथ दिएका थिए । उनीहरूको नाता लेनदेनको सीमाभन्दा माथि उच्च अवस्थामा पुगेको थियो । दुर्योधनले महाभारतको युद्ध कर्णकै आडभरोसामा लडेका थिए । बरु आफ्नो छायाले साथ छोड्ला तर कर्णले आफ्नो साथ छाड्दैनन् भन्ने विश्वास दुर्योधनमा थियो । महाभारत युद्धमा कर्णले वीरगति प्राप्त गरिसकेपछि दुर्योधनले भनेका थिए– ‘मेरा दुःशासन लगायत ९९ भाइ मर्दा पनि म त्यति दुःखी भइन, जति मेरा परम मित्र राधेय मर्दा शोकाकुल भएको छु । अब म बाँच्नुको पनि अर्थ छैन ।’ र, कर्णले पनि आफू कुन्तीपुत्र हुा भनेर जानिसक्दा पनि दुर्योधनको साथ नछाडी मित्रधर्मको पालन गरेका थिए ।
यद्यपि कर्णमाथि दुर्योधनलाई गलत बाटोमा लाग्दा पनि नरोकेको र हरेक गलत काममा साथ दिएको आरोप लाग्ने गरेको छ । धर्म र अधर्मको ज्ञान भएका कर्णले दुर्योधनलाई गलत बाटोमा जानबाट रोक्न सक्नुपथ्र्यो जुन मित्रधर्म पनि हो भन्ने पनि गरिन्छ । तर यसमा पनि सारा दोष कर्णलाई लगाउनु उपयुक्त हुँदैन । यद्यपि मित्रले समयमै गलत काम गर्नबाट रोक्न सक्नुपर्छ अन्यथा विनाश टार्न सकिँदैन भन्ने शिक्षा यिनीहरूको मित्रताबाट पाइन्छ ।

श्रीकृष्ण र सुदामा

जब मित्रताको प्रसंग उठ्छ तब श्रीकृष्ण र सुदामाको कुरा पनि उठ्ने गर्छ । बाल्यकालमा श्रीकृष्ण र सुदामा दुवैले महर्षि सान्दीपनिका आश्रममा सँगै पढेका थिए । यही समयमा यी दुईका बीच मित्रता भयो । शिक्षा प्राप्तिपश्चात् दुवै फरक बाटोमा लागे । श्रीकृष्ण द्वारिकाधीश भए भने सुदामा अत्यन्त गरीब ।
एक दिन सुदामा आफ्ना प्रिय मित्र श्रीकृष्णसँग भेट्न द्वारिका पुगे । उनमा गरिबीको संकोच थियो । तथापि कृष्णले उनका ती सबै संकोच मेटिने गरी स्वयं सुदामाको स्वागतसत्कार गरे र मित्रका जीवनको सम्पूर्ण समस्या हटाइदिए । मित्रतामा धनीगरिबको भेद रहँदैन, मित्रहरू समान हुन्छन् भन्ने उदाहरण यिनीहरूको मित्रतामा देख्न सकिन्छ ।

श्रीराम र सुग्रीव

रामायणमा हनुमानले श्रीराम र सुग्रीवबीच मित्रता गराएका थिए । मित लगाउने क्रममा श्रीरामले सुग्रीवलाई बालिबाट राज्य र पत्नी फिर्ता गराइदिने वचन दिएका थिए भने सुग्रीवले श्रीरामलाई सीताको खोजकार्यमा सहयोग गर्ने वचन दिएका थिए । श्रीरामले बालिलाई मारेर आफ्नो वचन पूरा गरे तर राजा भएपछि सुग्रीवले आफ्नो वचन बिर्से । यसो भएपछि लक्ष्मण क्रोधित भए । यो देखेर सुग्रीवलाई आफ्नो गल्ती महसुस भयो । सीताको खोज शुरू मात्र भएन लंकामाथि विजय गर्ने क्रममा सुग्रीवले रामलाई ससैन्य दिलोज्यानले सहयोग गरे ।
यिनीहरूबीचको मित्रताबाट आफूले मित्रलाई दिएको वचन कहिल्यै भुल्नु हुँदैन र सदैव मित्रको समस्या हटाउन लागिपर्नुपर्छ भन्ने शिक्षा पाइन्छ ।

श्रीकृष्ण र द्रौपदी

महाभारतमा श्रीकृष्ण र द्रौपदीबीच मित्रता थियो । श्रीकृष्ण द्रौपदीलाई सखी भन्दथे । द्रौपदीका पिता महाराज द्रुपद आफ्नी छोरीको विवाह श्रीकृष्णसँग गर्न चाहन्थे तर श्रीकृष्णले द्रौपदीको विवाह आफ्ना प्रिय पात्र अर्जुनसँग हुने चाँजोपाँजो मिलाए ।
श्रीकृष्णले हरेक कठिन परिस्थितिमा द्रौपदीलाई सहयोग गरे । जब श्रीकृष्णले सुदर्शन चक्र प्रहार गरी शिशुपाललाई मार्ने क्रममा चक्रले उनको औंलामा चोट लाग्यो र रगत बग्न थाल्यो । यो देख्नेबित्तिकै द्रौपदीले दायाँबायाँ विचार नगरी आफ्नो लुगाको फेर च्यातेर औंलामा बाँधिदिइन् । द्रौपदीको चीरहरण हुँदा श्रीकृष्णले त्यसैको गुन तिरे भन्ने भनाइ छ ।

मित्रताका विषयमा एउटा यस्तो प्रेरक प्रसंग छ–

एकजना केटाको धेरैजना साथी थिए, त्यस कुरालाई लिएर उसमा घमण्ड थियो। उसको बाबुको भने मात्र एकजना साथी थिए तर सच्चा थिए। एक दिन बाबुले छोरासित भने, हेर् छोरा ! तेरा धेरै साथी छन्, तीमध्ये तेरो सबैभन्दा मिल्ने साथीको आज राति परीक्षा लिऔं।

छोरो खुसीसाथ तयार भयो। रातको १ बजे बाबुछोरा छोराको सबैभन्दा घनिष्ठ मित्रको घर गए। छोरोले साथीको नाम लिँदै ढोका ढकढक्यायो, ढोका खुलेन। बारम्बार ढोकामा हानेपछि भित्र छोराको साथीले आफ्नी आमासँग भनेको कुरा बाबुछोरा दुवैले सुने। ऊ भनिरहेको थियो, आमा, त्यसलाई म घरमा छैन भन्दिनुस् है।

साथीको कुरा सुनेर छोरो उदास भयो। दुवै निराश भएर घर फर्के। घर पुगेर बाबुले छोरासित भने कि, छोरा अब म तँलाई मेरो साथीसँग भेट गराउँछु।

बाबुछोरा बाबुको साथीको घरतिर लागे। रातको २ बजे उनीहरू त्यहाँ पुगे। बाबुचाहिँले आफ्नो साथीलाई बोलायो। २-३ पटक बोलाउनेबित्तिकै भित्रबाट आवाज आयो। एकैछिन पर्ख है मित्र, म आइहालेँ।

२ मिनेटपछि नै ढोका खुल्यो। बाबुको साथीको एक हातमा पैसाको थैली र अर्को हातमा खुकुरी थियो। यो देखेर बाबुचाहिँले सोध्यो, यो के मित्र ? अनि साथी बोल्यो …. मेरो साथीले रातको २ बजे ढोका ढकढक्याउनुको अर्थ पक्कै पनि उसलाई आपत् परेको छ। सामान्यत: समस्या २ प्रकारको हुन्छ, एउटा पैसाको, अर्को कसैसँग विवाद। तिमीलाई पैसाको आवश्यकता परेको हो भने यो थैली लैजाऊ। अनि कसैसँग झगडा भएको हो भने चिन्ता नगर, यो खुकुरी लिएर म पनि तिमीसँगै जान्छु।

यस्ता हुन्छन् सच्चा मित्र ! 

Skip This
Skip This
Logo