प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको छ ।
प्रतिनिधिसभाको बैठक संञ्चालनका लागि आवश्यक पुर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एक मुष्ठ रकम हो ।
बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । बैठकका पुर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरि प्रतिबैठक दैनिक ७ लाख रुपैया खर्च भईरहेको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।
बैठक अवरुद्ध हुदा पनि सचिवालयको यो खर्चमा भने कमि आउँदैन । बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरि प्रति सांसद २ हजार रुपैया उपलब्ध गराउनुपर्ने हुन्छ । संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए ।
बैठक अवरुद्ध हुँदा बैठकका कार्यसुचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रुपमा रहने गर्दछ । दैनिक जसो बैठक अवरुद्ध हुदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ ।





























प्रतिक्रिया