हेटौंडा,
जहिल्यै उस्तै आउने आफ्ना केटाकेटी प्रत्येकले हातमा आँप बोकेर आएपछि अभिभावक हेरेको हे¥यै भए । कतै चोरेर त ल्याएका होइनन् भनेर खोजीनीति गरे । विचरा केटाकेटीहरु केहीबेर आत्तिए ।
अभिभावकलाई उनीहरुले सम्झाए–हामीलाई सरहरुले कोसेलीका रुपमा घर ल्याउन दिनुभएको हो । चोरेका होइनौं । यी आँप स्कुलकै बगैंचामा फलेका हुन् । बालबालिकाले आँपका बोटमा फूल फुल्न थालेदेखि नै स्याहार गरेर फलाएको दाना पाकेपछि विद्यालयमा खाने मात्र नभएर अभिभावकलाई समेत कोसेली पु¥याएका थिए ।
हेटौंडाको आर्थिकरुपमा विपन्न एक सामुदायिक विद्यालयले आफूले केही वर्षदेखि गर्दै आएको ‘मेहनतको फल’ फलका रुपमा अभिभावकको हातमा पु¥याएको हो । आआफ्नो आर्थिक हैसियत अनुसार खाजाको जोहो गर्ने अभिभावकलाई उक्त विद्यालयका विद्यार्थीले विद्यालयबाट आँप ‘कोसेली’ पु¥याएका छन् ।
५ कक्षासम्म पढाइ हुने हेटौंडा–९, बेतखोल्सीस्थित दिव्यज्योति आधारभुत विद्यालयका विद्यार्थीले विद्यालयपरिसरमा लगाएको आँपका बिरुवाले फल दिन लागेको छ । विद्यालय परिसरमा ३० बोट आँप, ३ बोट लिच्ची, १३ बोट अम्बा, १२ बोट कटहर र २ बोट कागती छन् । विद्यालय परिसरमा २ सय ५० वटा विभिन्न प्रजातिका फलफुलका बिरुवा रोपिएको थियो । ती सबै हुर्किएनन् ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम आचार्यले बालबालिकालाई विद्यालयमा व्यवहारिक ज्ञान दिने क्रममा विद्यालय परिसर सुन्दर बनाएर मेहनत गर्न सिकाउने क्रममा हरेक वर्ष आँप, लिच्ची, अम्बा, कटहर, कागती लगायत फलफुलका बिरुवा लगाएर हुर्काइएको जानकारी दिनुभयो ।
फलफुलको बोटमा विद्यार्थीको नाम नै राखेर उनीहरुलाई हेरचाह गर्ने र फल फलाउने जिम्मा दिइएको उहाँको भनाइ छ । ‘हामीले विद्यालयमा फलेको आँप विद्यार्थीहरुलाई बाँड्यौं, अभिभावक, विद्यालय व्यवस्थापन समिति, उपसमिति, शिक्षक, अभिभावक मिलेर खायौं’, प्रधानाध्यापक आचार्यले भन्नुभयो–हरेक फलफुलको बोट निश्चित विद्यार्थीको नाममा राखिएको छ । ती विद्यार्थीले हेरचाह गर्ने, गोडमेल गर्ने र मलजल गर्ने गर्छन् । विद्यालय परिसर सुन्दर देखिने, बालबालिकाले अनुशासन सिक्ने, बालबालिकाले मौसमी फलफुल खान पाउने भएपछि अभिभावक खुशी छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया