अक्कल कोपिला फाउण्डेसनको सहयोगमा बामा गाउँमा घण्टे शिक्षक

अक्कल कोपिला फाउण्डेसनको सहयोगमा बामा गाउँमा घण्टे शिक्षक

केन्द्रबिन्दु
57
Shares

मुगु । अक्कल कोपिला फाउण्डेशनले मुगुको एक गाउँमा कक्षा–१ र २ का विद्यार्थीहरूलाई पढाउन घण्टे शिक्षक राखेको छ। छायाँनाथ रारा नगरपालिका—१३ मा जन्मिएका अक्कल बोहोरा हाल स्पेनमा बस्दै आएका छ।

उनै बोहोराले आफू र श्रीमती कोपिलाको नाममा रहेको फाउण्डेसनमार्फत् यहाँको बामा गाउँमा रहेको हिमोदय माविमा कक्षा–१ र २ मा अध्ययनरत ८५ विद्यार्थीलाई पढाउन घण्टे शिक्षकको प्रबन्ध गरिदिएको हो।

फाउण्डेशनले सो विद्यालयमा दैनिक दुई घण्टा पढाएवापत् दुई जना शिक्षकलाई पारिश्रमिकको प्रबन्ध गरेको छ।
‘सरकारी शिक्षाको गुणस्तरमा प्रश्न छ। घर आएका बेला गाउँका भाइबहिनीको शिक्षाको विषयले मन पोल्यो। सानो कक्षामा पनि धेरै विद्यार्थीहरु गाउँमै पढिरहेका रहेछन्, उनीहरुको भविष्यप्रति चिन्ता लागेर सानो सहयोग गरेको हुँ,’ फाउण्डेसनका अध्यक्ष अक्कल बोहोराले भने।

फाउण्डेशनले दुई शिक्षक राखिदिएपछि गाउँका बालबालिकालाई पढाइमा मद्धत पुगेको स्थानीय तिलबहादुर बुढाले बताए।
वडा नं. १४ का अध्यक्ष जुनबहादुर खड्काले फाउण्डेशनले गाउँका बालबालिकाका लागि ठूलो सहयोग गरेको बताए। ‘गाउँका बालबालिकाको शिक्षामात्रै होइन, वडामा प्रवेशद्धारदेखि चौतारा बनाउने सम्ममा उहाँले सहयोग गर्नुभएको छ,’ उनले भने।

Skip This
Skip This
Logo