नेपालगन्ज,
सिटिजन्स बैंकको नेपालगन्ज शाखाका प्रबन्धकसहित १३ कर्मचारीले कम सुनको धेरै धितो मूल्याङ्कन गरेर ठगी गरेको रहस्य खुलेको छ । एकजना व्यक्तिको सुन भाखा नाघेर गलाउन खोज्दा धितो राखिएको भन्दा धेरै गुणा कम पाइएपछि घटना पर्दाफास भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार यसरी ठगी गर्नेमा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शंकर जोशी, खजान्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मा लगायत १३ जना रहेका छन् ।
उनीहरुले परिवारका सदस्य, आफन्तको र आफ्नै नाममा कम सुनलाई धेरै परिमाणको धितो देखाएर विभिन्न मितिमा ३ करोड २७ लाख रुपैयाँ ठगी गरेको फेला परेको हो ।
बैंकमा ०७३ सालदेखि नै सुन धितो राखेर ऋण लिएर ठग्ने क्रम सुरु भएको बताइएको छ । बैंकबाट १६ जनाले सुनबाट धितोको कारोबार गरेको भए पनि ६ जनाले सावाँ र ब्याज भुक्तानी गरिसकेकाले उनीहरुलाई कानुनी कारबाहीको दायराबाट उन्मुक्ति दिइएको छ ।
सुन राखेर ठगी भएको बारे सिटिजन्स बैंक नेपालगन्ज शाखाले ८ जेठमा प्रहरीमा जाहेरी दिएको थियो । ५ साउनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा अभियोगपत्र दर्ता गरिएको थियो । नेपालगन्ज इजलासले बुधबार प्रबन्धकसहितका सातजना कर्मचारीसँग जनही २५ लाख धरौटी माग गरेको अदालतका रजिष्टार हिरेन्द्र भण्डारीले जानकारी दिए ।
२५ लाख रुपैयाँ तिरेर ईश्वर सुनार धरौटीमा रिहा भएका छन् भने धरौटी तिर्न नसक्दा बैंक प्रबन्धकसहितका ६ कर्मचारीलाई बाँके कारागार चलान गरिएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया