काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली हम्मेसी अरू नेताका घर धाउँदैनन्। ओलीले शनिबार भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार जाने निधो अघिल्लो दिन नै गरेका थिए। नेकपामा अन्तरसंघर्ष झन् चर्किंदै गएका बेला शुक्रबारै ओलीले बालुवाटारमा दाहालसँगको भेटमा भनेका थिए, ‘भोलि (शनिबार) बिहान म तपाईं (दाहाल)कहाँ नै चिया पिउन आउँछु। थप त्यहीँ छलफल गरौँला।’
दाहालले आफू मात्रै कति बालुवाटार धाउने भन्दै ओलीलाई आफ्नो निवासमा पनि कहिलेकाहीँ छलफलमा आउँदा हुन्छ नि भन्ने आग्रह गर्दै आएका थिए। प्रधानमन्त्रीले नै खुमलटार आउने भनेपछि दाहालले प्रधानमन्त्रीलाई स्वागत गर्न आतुर रहेको जवाफ फर्काएका थिए। त्यसपछि दुई अध्यक्षको छलफलमा समय तय भयो– शनिबार बिहान १० बजे खुमलटारमा सँगै चिया पिउने। अनि पार्टीभित्रका समस्या समाधानका लागि छलफल गर्ने।
दाहालले ओली आफूकहाँ छलफलमा आउन लागेको जानकारी निकट नेताहरूलाई गराएका थिए। ओलीसँग हुने छलफलपछि दाहालले आफूसँगै मोर्चाबन्दीमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतसँग पनि छलफल गर्ने ‘सेडुअल’ पहिले बनाएका थिए।
नेकपाको आइतबार बस्ने स्थायी समिति बैठकको पूर्वसन्ध्यामा ओली शनिबार नेताहरूको निवासमै अर्थपूर्ण दौडधुपका लागि निस्कन लागेका थिए। तर, शनिबार ओली दाहाल निवास निर्धारित समयभन्दा एक घण्टा ढिला पुगे। अर्थात् १० बजेर ५५ मिनेटमा ओलीको खुमलटारमा ‘इन्ट्री’ भयो। दाहालले ओलीसँग बढीमा एक घण्टा छलफल हुने र त्यसपछि आफूले अन्य नेतासँग संवाद गर्ने गरी उपाध्यक्ष गौतम, वरिष्ठ नेता नेपाललगायतसँगको भेट तालिका तय गरेका थिए।
जसमध्ये गौतमलाई बिहान साढे ११ बजे र वरिष्ठ नेता नेपाललाई सवा १२ बजे भेट्ने तालिका दाहालको थियो। दाहालसँग ओलीको संवाद सवा १२ बजेसम्म लम्बिएको थियो। त्यहीबीच दाहालले साढे ११ बजे खुमलटारमा बोलाएका उपाध्यक्ष गौतम समयभन्दा १० मिनेटअगावै खुमलटार पुगिसकेका थिए। एक्लाएक्लै संवादमा बसिरहेका ओली र दाहाल आआफ्नै अडानमा थिए। स्रोतका अनुसार ओली भन्थे, ‘तपाईं (दाहाल)को प्रस्ताव आरोपपत्र नै हो, लाञ्छनापत्र नै हो। त्यो लाञ्छनापत्र फिर्ता लिनुस्, अन्य विषयमा दुई अध्यक्ष मिलेर अगाडि जान म तयार नै छु।’
तर, दाहालले ओलीको प्रस्ताव स्विकारेनन्। ओली र दाहाल आआफ्ना पूर्ववत् अडानमा रहँदै कुरा गरिरहेका बेला गौतम सीधै छलफलमा मिसिन पुगे। आमनेसामने भएर छलफल गरिरहेका ओली–दाहालको वल्लो छेउमा बसेर गौतम त्यसपछि दुई अध्यक्षको संवाद सुन्न थाले। गौतमकै अगाडि दाहालले ओलीसँग भने, ‘वामदेवका बारेमा तपाईंले के कुरा गर्न खोज्नुभएको हो ? उहाँ पनि हुनुहुन्छ। भनिदिनुस्।’ दाहालले गौतमको प्रसंग उप्काएपछि ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने बताए। दाहालले गौतमलाई प्रधानमन्त्री बनाउने भए तुरुन्तै राजीनामा दिन ओलीलाई आग्रह गरे। तर, ओलीले अहिले राजीनामा नदिने र अर्काे चुनावपछि प्रधानमन्त्री बनाउने भनेको बताएको स्रोतको भनाइ छ। यो संवाद भइरहँदा गौतम केही बोलेनन्।
ओलीले पुस १ गतेको स्थायी समिति बैठकमा पनि गौतमको नामै लिएर पार्टीका शीर्ष नेताहरू सबै पार्टी अध्यक्ष या प्रधानमन्त्री भइसकेकाले अब गौतमलाई बनाउनुपर्ने भन्दै त्यसमा आफू तयार रहेको बताएका थिए। शनिबार दाहाल ओलीको संवादमा पनि यो विषय छलफलका क्रममा उठेको हो। त्यसपछि फेरि स्थायी समितिमा आइतबारदेखि छलफलमा जान खोजेको दुई अध्यक्षकै प्रस्तावको सेरोफेरोमा ओली दाहाल संवाद दोहोरियो। दाहालले पार्टी कमिटीमा पुगेका प्रस्तावलाई पार्टी कमिटीबाटै टुंगाोमा पुर्याउनुपर्ने धारणा राखे। ओलीले आफूविरुद्ध आएको लाञ्छनापत्र, मृत्युपत्रमा कुनै अवस्थामा पनि छलफल हुन नसक्ने बताए। ‘तपाईंले आफ्नो लाञ्छनापत्र फिर्ता लिनुस्, नत्र भने मृत्युपत्रमा हुने छलफलको बैठक कसरी हुन्छ ? पार्टी दुर्घटनामा जान्छ।’
दाहालले जवाफमा भने, ‘तपाईंको र मेरो दुवै प्रस्ताव छलफलमा लैजाऔं। बैठकले जसको प्रस्ताव पारित गरे पनि गर्छ, स्विकारौं, होइन, दुवै प्रस्ताव फिर्ता गरेर अर्काे ल्याउन बैठकले नै भन्छ, भने पनि त्यसै गरौँला। अहिले अब यो फिर्ता हुँदैन। कमिटीले नै निर्णय गर्छ।’
गौतमलाई साक्षी राखेर भएको संवादमा पनि सहमति जुटेन। ओली पार्टी बैठकमै नआउने भन्दै खुमलटारबाट निस्किएका थिए। नेपाल त्यतिन्जेल बाहिर अर्काे कोठामा बसिरहेका थिए। त्यसपछि दाहालले गौतम र नेपालसँग संवाद गरे। ओलीसँगको छलफलबारे उनले नेताहरूलाई ब्रिफिङ गरे। खुमलटारमा दाहालसँग कुरा नमिलेर हिँडेका ओली सीधै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाको पुल्चोक निवास (मन्त्री क्वार्टर) पुगे। थापाका लागि भने प्रधानमन्त्री आउँदै गरेको कुरा अप्रत्याशित नै थियो। उनले गृहमन्त्रीलाई दाहालसँगको छलफल सकारात्मक हुन नसकेको भन्दैै परिस्थिति जटिल मोडमा पुगेको बताएका थिए।अन्नपूर्णबाट































प्रतिक्रिया