काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये पार्टी आन्तरिक विवादमा फसेको समयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट छलफल भएको थियो । अध्यक्ष दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पार्टीभित्र भइरहेका कामका विषयमा छलफल गरे । खुमलटारमा ओलीले आफू विरोधी बनाइएको राजनीतिक प्रतिवेदन फिर्ता लिन प्रचण्डलाई आग्रह गरेको प्रचण्डको निजि सचिवालयले जनाएको छ । यता प्रचण्डले पनि विवादास्पद अध्यादेश फिर्ता लिन गरिएको सहमति कार्यान्वयन हुनु पर्ने र विगतमा भएका सहमति कार्यान्वयमा आउनु पर्ने बताए ।
विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभाड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो । यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको सो समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जनाएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताएका छन् । लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताएका हुन् । शनिवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पारे । विश्वभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताए । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएका डेभ ह्वाटमोरका कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताए ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान सीता–राम विवाह महोत्सव–०७७ हर्षोल्लासपूर्वक मनाइएको छ । त्रेतायुगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले जनकपुरधाममा हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् । आजको यस विशेष दिनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना हुनु पर्ने बताए । पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको बताए । राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको बताए ।































प्रतिक्रिया