काठमाडौं । चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
तिनै जनाले सञ्चालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगले ५५ लाख रुपैयाँ बराबरको काम गरेको थियो । १२/१३ लाख रुपैयाँ दिएर बाँकी पैसा माग्दा विजय सिंहले धम्की दिने गरेको भन्दै सुरक्षाको माग गर्दै निवेदन दिएको निमाले बताए ।
पैसा माग्दा विजयले ‘मलाई चिनेको छस् ? तलाई म देखाईदिन्छु, म धेरै पावरलावा मान्छे हुँ’ जस्ता धम्की दिनेगरेको निमाको भनाई छ । बद्रिले धम्की नदिएपनि दोहोरी साँझमा उनको पनि शेयर रहेकाले तिनै जना सञ्चालकविरुद्ध उजुरी दिएको बताए ।

‘सुरुमा २५ लाख जतिको खर्च आउन लागेको थियो । पछि उनीहरुले ५६ करोड रुपैयाँ खर्च लागेपनि राम्रो बनाउनुपर्यो भन्नुभयो । त्यहि अनुसार बनाउँदा ५५ लाख रुपैयाँ खर्च भयो । त्यो मध्ये १२/१३ लाख रुपैयाँ मात्र दिनुभयो । बाँकी पैसा माग्दा धाकधम्की दिन थाले ।’ निमाले भने ।
उनीहरु सबैलाई छलफलको लागि बिहीबार बिहान बोलाईएको छ । यता गायक पंगेनीले भने आफ्नो नाम मुछेर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।
उक्त आरोपप्रति पंगेनीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका हुन् । उक्त कार्यमा आफ्नो नाम जोडेर उजुरी दिईएको प्रति उनले आपत्ती जनाएका हुन् ।
‘आपसी कारोबारलाई लिखित सहमतिको आधारमा टुंगोमा पुर्याउनुको साटो सस्तो लोकप्रियताको लागि मेरो नामको जुन दुरुपयोग भएको छ त्यस प्रति म घोर आपत्ति जनाउँदछु’ पंगेनीले भनेका छन् ।
उजुरीकर्ता व्यक्तिले धम्की दिएको भन्ने प्रमाणित गर्न सके आफु जस्तो सुकै सजाय भोग्न तयार रहेको पंगेनीको भनाई छ । आफुमाथि लागेको आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको भन्दै उनले भने, ‘यदि यो कपोकल्पित र निराधार आरोप हो भन्ने प्रमाणित भएमा मलाई परेको आघातको भागिदार उजुरीकर्ता हुने कि नहुने ? भन्ने प्रश्न गर्दै यदि आफुले धम्की दिएको भए झुन्दिएर मर्न तयार छुँ ।’
निरमाया दोहोरीको निर्णायक ब्यबस्थापन आफुले नहेरेको, विगत लामो लामी समयदेखि आफु निस्क्रिय साझेदार रहँदै आएको उनको भनाई छ । त्यो कारोबारप्रति आफुलाई कुनै जानकारी समेत नरहेकोले धम्की दिने जस्तो गम्भीर काम आफ्नो हातबाट हुनै नसक्ने बद्रिको दाबी छ ।
कुनै प्रतिसोधको कारण उजुरी गरेको भए वा दोहोरीसँगको कारोबारमा विवाद भएको भए आफ्नो नाम नमुछिदिन आग्रह गरेका छन् । कारोबार भएको रकम पछर्यौट गर्नुपर्ने तर जो सँग कारोबार भएको उसैको नाम आउनुपर्ने उनको तर्क छ । आफुबाट यस्तो गम्भीर अपराध हुनै नसक्ने बद्रिको दाबी छ ।































प्रतिक्रिया