सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि मंगलबार पुनः दरखास्त आह्वान गरेको छ।
यसअघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त आव्हान गरेको थियो। जसमा डा. नीलमणि उपाध्यायसहित, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा. रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका थिए ।
आवेदन दिएका ६ जनाकै दरखास्त रद्द गरिएको छ । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले उनीहरुको योग्यता नपुगेको भन्दै दरखास्त रद्द गरेको हो।
नयाँ सूचनामा आयोग उपाध्यक्ष भएपछि नेतृत्वदायी भूमिका निर्वाह गर्ने सोचपत्र र व्यावसायिक कार्ययोजनासहित दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । दरखास्त दिने अन्तिम दिनसम्म ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको चिकित्सा शिक्षामा ख्यातिप्राप्त व्यक्तिले आवेदन दिन सक्नेछन् । यसअघि उमेर हद ६४ वर्ष तोकिएको थियो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरी २० वर्षको कार्य अनुभव र चिकित्सा शिक्षासम्बन्धी क्षेत्रमा १० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ । योग्य इच्छुक व्यक्तिले साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरी दरखास्त दिनु पर्नेछ ।






























प्रतिक्रिया