आज साउने संक्रान्ती, लुतो फाल्ने दिन

आज साउने संक्रान्ती, लुतो फाल्ने दिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

आजदेखि असार सकिएर श्रावण महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस ऋतु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।

श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नका लागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनु भएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नु भएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदी लिएर हिँडेका भगवान शिव आफैं जल हुनुभएको उल्लेख गरिएको छ ।

यसै हिसाबले पनि यस महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाडौंको बागद्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिरहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरुको भीड लाग्ने गर्दछ ।

आज लुतो फाल्ने दिन

साउन १ गतेको अर्को महत्व पनि छ । आजका दिन लुतो फाल्ने गरिन्छ । हिन्दु संस्कृति अनुसार साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको नयाँ पुस्तामा खासै जानकारी छैन ।

परम्परा अनुसार काग भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृृति मनाउने गरिएको छ ।

Skip This
Skip This
Logo