निर्मला प्रकरण : पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना, एकघण्टा कैद !

निर्मला प्रकरण : पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना, एकघण्टा कैद !

केन्द्रबिन्दु
0
Shares

धनगढी,

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ । जिल्ला बार इकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको हो।

जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुनेछ । ‘अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने र आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने शर्त पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘ यी शर्त पूरा नगरेमा एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय भोग्नु पर्नेछ ।’ अदालतको अवहेलना सम्बन्धमा न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार ‘तुच्छ सजाय’ सुनाइएको हो ।

वादीका तर्फबाट बार इकाईका अधिवक्ताहरुले बहस गरेका थिए भने प्रतिवादीतर्फ कुनै कानुन व्यवसायी नराखी स्वयम् पत्रकार भण्डारीले बहस गरेका थिए । पत्रकार भण्डारीविरुद्ध अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेषण गरेको, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने खालको स्टाटस पोष्ट गरेको भन्दै मुद्दा हालिएको थियो । उनीविरुद्ध अधिवक्ता विनोद भट्टले पनि मुद्दा हालेका थिए ।

पत्रकार भण्डारीले तीन दिनभित्र पोष्ट हटाएर आगामी दिनमा माफीसहित आगामी दिनमा नगर्ने प्रतिबद्धता नजाउने भएका छन् । पत्रकार भण्डारीले अदालतको निर्णयको सम्मान गर्ने र कञ्चनपुर जिल्ला अदालतको फैसलाले आफूमाथि अन्याय भएकोले पुनरावेदन जाने बताएका छन् । ‘म माथि अदालतको फैसलाले अन्याय गरेको छ,’ उनले भने, ‘म पुनरावेदन अदालत जान्छु ।’
नागरिकबाट

Logo