काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र बढ्दो तिक्तकाबीच शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश–१ का प्रचण्ड–नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेला सम्पन्न भएको छ । बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिबिधीका विरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ । शुक्रबारको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओली एकाधिकार र सर्वसत्तावादी प्रवृत्ति उन्मुख भएको आरोप पनि लगाएको छ ।
सरकारले भूमिहिनहरुका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण पनि यसै वर्ष देखि भूमिहिनहरुलाई लालपूर्जा वितरणको कार्य शुरु गर्न सकिने आयोगको दावी छ ।
स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने सार्वजनिक लेखा समितिले निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले खरिद प्रक्रिया नियमसंगत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिजना भएकाले यसको थप छानविन गरेर दोषी पत्ता लगाउने र कारबाही पनि गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समितिले गरेको हो । यसैबीच, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताएका छन् ।
एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट राज्यको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले अर्का दोषी लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपका लागि अनुमति दिने देशहरूको संख्या बढ्दै गएको छ । जस अन्तर्गत अब भारत पनि खोप प्रयोगको अनुमति दिने तयारीमा जुटेको छ । भारतले यही आउँदो जनावरी महिनादेखि नै कोभिड–१९ विरुद्धको खोप दिन सुरु गर्न सक्ने सङ्घीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।





























प्रतिक्रिया