काठमाडौं उपत्यकामा लाग्दै आएको जोरबिजोर प्रणाली आजदेखि अन्त्य

काठमाडौं उपत्यकामा लाग्दै आएको जोरबिजोर प्रणाली आजदेखि अन्त्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ ।

जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुने गरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएको हो ।

विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग, कलकारखानाबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो आएको र सार्वजनिक सवारी कम हुँदा यात्रुको चाप बढ्न गई भीडभाड हुँदा झन जोखिम बढेकाले यात्रुको सुविधालाई मध्यनजर गरी उक्त निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसको भीडभाड कम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार काठमाडौं उपत्यकामा गत असोज १ गतेदेखि जारी गरिएको निषेधाज्ञा बमोजिम उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।

सङ्क्रमण समय अवधिभर यातायात सञ्चालन निर्देशिका ०७७ पालनामा भने कडाई गरिने भएको छ । मापदण्ड पालना नगरी सवारीसाधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रजिअ पराजुलीले बताए ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भौतिक दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क लगाएर हिँडडुल गर्न, राम्ररी साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।रासस

Logo