काठमाडौँ,
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन गराउनु पर्नेछ ।
त्यसैगरी, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उहाँ निर्वाचित भएको कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ खाली भएको हो । त्यसैगरी प्रदेशसभातर्फ हरिशरण लामिछानेको मृत्युका कारण भक्तपुरको १ ‘क’, उत्तरकुमार वलीको निधनका कारण दाङ ३ ‘ख’ तथा टेकबहादुर घर्तीको निधनका कारण बाग्लुङ २ ‘ख’ रिक्त छन् ।
निर्वाचन बहिष्कार गरेका कारण सोलुखुम्बुको तिङलामा सबै पद रिक्त छन् । साथै अन्य स्थानीय तहतर्फ वडाध्यक्षतर्फ ४३ पद रिक्त छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया