काठमाडौँ,
“खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “हलो जोतेर खाने खेत पनि छैन । हवाइजहाज पनि छैन ।”
पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी नपाउने स्थिति नभएको प्रधानमन्त्री ओलीको जिकिर थियो । शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेशामा खपत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तालीमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्व विद्यालयहरु लाग्नुपर्छ ।”
पोखरा विश्वविद्यालयको २० औँ साधारणसभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजना अनुसार विश्व विद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनु पर्नेमा जोड दिनुभयो । विश्व विद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् ।” कतिपय विश्व विद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।
जनशक्ति प्रक्षेपण सम्बन्धी कार्यदलले आइतबार मात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । उहाँले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताउनुभयो । उहाँले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धीस्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने शैक्षिक पात्रो र विधि लागू गर्न पनि आग्रह गर्नुभयो । “कृषि पढाउने हो भने खेतबारीमा पढाउनुस् । मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानुस् ।” प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एक पटक प्राध्यापकहलाई भनेको थिएँ, तपाईँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?”
कुलपति ओलीले लाखौँ जनशक्ति विदेश गइरहेको तर शिक्षा, सीप र दक्षताको आवश्यकता भएको युवाशक्तिको समुचित रुपमा प्रयोग हुन नपाएको जनाउँदै सस्तो श्रम बजारमा युवा जानु दुःखद् भएको उल्लेख गर्नुभयो । “यसलाई बदल्ने योजना बनाउने ठाउँ विश्व विद्यालय नै हो । नेपाल विश्वविद्यालय स्थापनामा केही पछि परेको छ तर विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र थियो । त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन । अब यो बदल्नुपर्छ ।”
रासस





























प्रतिक्रिया