बालाजुको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँः सञ्चारमन्त्री

बालाजुको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँः सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालाजुको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिएका छन् । बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खानेलाई जहाँ गए पनि कारवाहीको दायरमा ल्याएरै छाड्ने बताएका हुन् ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् । बालाजुको २७ रोपनी जग्गा खोइ भनेर प्रश्न गर्दै जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताए ।

मन्त्री बास्कोटाले भने, ‘बालाजुको जग्गा खोई ? जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न पाइन्छ ?’

‘त्यो जग्गा खोई ? त्यो जग्गा कसले खायो ? त्यो जग्गा खानेलाई कारवाही गर्ने कि नगर्ने ? सरकारले त्यसै काठमाडौंमा अत्याधुनिक स्टुडियो बनाउने भनेको होइन । सरकारले काम गर्न त आँटिरहेको छ त ।’ मन्त्री बाँस्कोटाले जग्गा खानेलाई पहिले घिसारेर अगाडि ल्याउने अनि स्टुडियो बनाउने बताए ।

त्यस्तै मन्त्री बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरे । आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने हल्ला मात्र भएको बताए । मन्त्रिपरिषदको कुनै पनि निर्णयमा पैसा दिने कुरा उल्लेख नभएको बताए ।

‘मन्त्रीपरिषद्को निर्णयमा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’ मन्त्री बाँस्कोटाले भने ।

मन्त्री बाँस्कोटा बोल्नुअघि मन्तव्य राख्ने क्रममा चलचित्र विकास बोर्डका प्रथम अध्यक्ष यादव खरेलले सरकारको निर्णय राष्ट्रविरोधी भएको आरोप लगाएका थिए । उनको आरोपको खण्डन गर्दै मन्त्री बाँस्काटोले भने, ‘हुँदाहुँदै यादव खरेलजस्तो सिनियर कलाकारलाई पनि भड्काएछन्,।’ बाँस्कोटाले भोलिका दिनमा हलिउडले पनि अवार्ड गर्छु भन्यो भने गर भन्नुपर्ने बताए ।

Logo