काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ। शुक्रबार दिउँसो ३ः१५ देखि विमानस्थल पूर्णरूपमा बन्द गरिएको हो । आधा घन्टासम्म कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न विमानस्थल बन्द गरिएको हो । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको महाप्रबन्धक क्षेत्रीको भनाई छ ।
विमानस्थल प्रशासनले आन्तरिक र अन्तर्राष्ट्रिय सबै वायुसेवा कम्पनीलाई यसबारे अग्रिम जानकारी गराइसकेको थियो । वायुसेवाहरूले त्यहीअनुसार आफ्ना जहाजका उडान तालिका मिलाएका थिए ।
हवाई उडान तथा सुरक्षा मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमानस्थल सङ्कटकालीन योजनाअनसार गरिने अभ्यासमध्ये उक्त अभ्यास गरिएको हो ।
विमानस्थलमा जहाजभित्र बम थ्रेट भएको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थल छिटोभन्दा छिटो सञ्चालन गराउने उद्देश्यले अभ्यास गरिएको हो ।
बम थ्रेट अभ्यास क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि देखिएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा विमानस्थल आकस्मिक योजनाअनुसार गरिने योजनाबद्ध अभ्यासमात्रै भएको उनको भनाइ छ।































प्रतिक्रिया