बाँके ।
बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घर मध्ये १० घर निर्माण भई गन्धर्व समुदायलाई हस्तान्तरण समेत भइसकेको छ ।
नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्धर्व बस्तिलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई सम्बृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्धर्वहरुलाई उपलब्ध गराइएको छ । दोस्रोचरण अन्तर्गत ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।
सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिंदा समस्या भएको गन्धर्वहरु बताउँछन् । पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टी ट्यांकी एउटै भएकाले झनै समस्या भएको गुनासो उनीहरुको छ । तरपनि घर नै नभएकाहरुका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरु खुशी देखिन्छन् । समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा उनीहरु छन् ।
अहिले गन्धर्व समाजलाई घरको खाँचो छ । त्यसैले स्थानीय सरकारले घर बनाईदिएको छ । गन्धर्वहरु भने सरकारले घर बनाईदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरुलाई घरको लालपुर्जा समेत उपलब्ध गराईदिए सहज हुने उनीहरुको भनाई छ ।
बसोबासको समस्यामा रहेका स्थानीय गन्धर्वहरु घर पाएपछि खुशी देखिन्छन् । यस्तै उनीहरुले स्थानीय तहबाट सीपमुलक कार्यक्रम पाउन सके जिविको पार्जनका लागि समेत सहज हुने बताए।





























प्रतिक्रिया