पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

चितवन,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताउनु भएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचे अनुसारको काम गर्न कठिन भएको बताउनुभयो ।

हिजो राजाहरु निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भन्नुभयो, “यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।” नियम कानून पनि तिनै रहेको भन्दै उहाँले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गर्नुभयो ।

परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहा नै नपाई लडाइँ चल्ने गरेको उहाँको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताउनुभयो ।

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले भन्नुभयो, “जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।” प्रयास भने जारी रहेको भन्दै उहाँले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।”

छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उहाँको भनाइ थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको उहाँले बताउनुभयो । बाँके निवासी अच्युतराज सुवेदीको वि.सं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उहाँ पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुनुहुन्थ्यो । दाहालले उहाँसहित भूकम्पमा ज्यान गुमाएकाको स्मरण गर्दै त्यो विपत्ले नेपालमा संविधान बन्न सहज बनाएको बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo