चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब बढी राजस्व संकलन

चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब बढी राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा ३ खर्ब बढी राजस्व संकलन भएको छ । यो महामारीको अवस्थामा पनि ३ अर्ब माथि राजस्व संकलन हुनु सन्तोषजनक नै रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनामा ३ खर्ब १ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ । चालु आवमा सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस अवधिमा कर राजस्वतर्फ २ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ ।

कोभिड १९ को संक्रमण प्रभावका कारण आर्थिक गतिविधि संकुचन हुँदा चालु आवको पहिलो चौमासिकसम्ममा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत संकुचन भए पनि राजस्वसहित नेपाल सरकारको कुल प्राप्ति १.७७ प्रतिशतले बृद्धी भएको छ । यस अवधिमा भन्सार महशुल, पैठारी संकलनमा हुने मूल्य अभिबृद्धीकर र आयकरमा सामान्य बृद्धि भएको छ भने अन्य कर शिर्षक अन्र्तगत संकलन भएको राजस्वमा संकुचन आएको छ । गैरकर राजस्व उल्लेख्य रुपमा घटेको छ ।

कोभिड महामारीका कारण उपभोक्ताहरु अत्यावश्यक उपभोगबाहेक अन्य उपभोग कम गरेका र लगानीकर्ता समेत लगानी गर्न हिच्किचाएका कारण कुल उपभोग तथा लगानीमा कमी आएकाले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७७/७८ को पाँचौं महिनासम्म पूँजीगत (विकास) खर्चको गति भने गत आर्थिक वर्षको जस्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरण अनुसार सरकारले यो वर्ष कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ । तर, आवको पाँचौं महिना (मंसिर मसान्त) सम्म पूँजीगत खर्च मात्र ३५ अर्ब ९४ करोड १७ लाख रुपैयाँ भएको छ । यो रकम कुल लक्ष्यको १०.१८ प्रतिशत मात्रै हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँचौ महिना बितिसक्दा कूल बजेट खर्च २२.२७ प्रतिशत पुगेको छ । चालु आवमा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य राखेको छ । त्यसमध्ये पाँच महिनामा चालु खर्च २ खर्ब ८० अर्ब ७४ करोड २८ लाख रुपैयाँ भएको छ ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चौमासिक समीक्षामा कोरोना भाइरसको संक्रमण जारी रहेका कारण विकास निर्माणका काम प्रभावित बनेको उल्लेख छ । यसको असर पूँजीगत खर्चमा परेको हो ।

Logo