काठमाडौं ।
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पतालमा थप ४/५ सय बेड संख्या थप्ने गरी निर्माण कार्यलाई तिब्र पारिएको बताएका छन् ।
शहरी विकास मन्त्रीको रुपमा कार्यभार सम्हालेको दिन पारेर मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले वीर अस्पताल भित्रको पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिएको बताएका हुन् । उनले मन्त्रालयमा पदभार ग्रहण गरेदेखि नै प्राथमिकताका साथ काम गरिरहेको दावी समेत गरे। वर्तमान सरकारको पहिलो दायित्व र जिम्मेवारी नै नागरिकहरुको जीउ ज्यानको सुरक्षा गर्नु रहेकोले आफूले स्वास्थ्य पूर्वाधार निर्माणमा नै सबैभन्दा बढी ध्यान दिएको बताए । तर पछिल्लो समय सडकमा देखिएको भिडभाडले भयावह र अस्वभाविक स्थिति निम्त्याउन सक्ने समेत उनले बताए। तरपनि मन्त्रालयले प्राथमिकताका साथ वीर अस्पताल भित्रको संरचना निर्माणमा प्राविधिक सहयोग गरेको बताए। यसबाट वीर अस्पतालमा मात्रै आइसियु र भेन्टिलेटर सहित ४÷५ सयको संख्यामा बेड थपिने भएकाले भविश्यमा हुने सम्भावित अभावलाई पूर्ति गर्न सक्ने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले योजनावद्ध विकासको कार्यक्रमलाई मात्रै प्राथमिकता दिएको पनि बताए । यस अघि पहिला निर्माण गरिसकेपछि मात्रै शहरको योजना बनाइने गरेकोमा अब भने पहिला योजना बनाएर मात्रै विकासका कार्यक्रम कार्यान्वयनमा लैजाने गरी सोचिएको बताए ।
मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा आफूले कार्यभार सम्हालेको दुई महिना अवधिमा गरेका कामहरु र आगामी दुई महिनाका लागि तयार पारेको योजनाको बारेमा जानकारी गराएका थिए।































प्रतिक्रिया