पोखरा,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकता भाँड्ने शक्ति सक्रिय रहेको बताउनु भएको छ । ‘देशलाई अस्थिर बनाउन हाम्रो एकतालाई भाँड्ने शक्ति सकृय छन्, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकता विरोधीलाई परास्त गरेर अघि बढ्नुको विकल्प छैन ।’
शनिबार पोखरा आउनुभएका प्रधानमन्त्री ओली नेपाल स्काउटको युवा सम्मेलनको उद्घाटन गर्दै युवाहरुलाई जातिय, क्षेत्रीय संकुचनबाट माथि उठेर सकारात्मक सोंचका साथ देश विकासमा सरिक हुन आव्हान गर्नुभयो ।
सम्मेलनमा नेपालसहित १४ देशका १६ देखि २५ वर्ष उमेर समूहका करिब पाँच हजार स्काउट युवा सहभागी भएका छन् । सम्मेलनले स्काउट युवाहरूबीच आपसी सद्भाव तथा सांस्कृतिक आदानप्रदान एवं भ्रातृत्व र भगिनित्व विकासमा समेत सहयोग हुने विश्वास लिइएको छ ।
युवा तथा खेलकुद मन्त्री एवम् प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक अभियानमा एकजुट बनाउन स्काउटले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले ज्ञान, खेल लगायतका अनेक क्षेत्रमा युवालाई अनुशासित, कर्तव्यनिष्ठ बनाउन स्काउटको विशेष योगदान रहेको धारणा राख्नुभयो ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले सम्मेलनबाट युवाहरुले आपसी अनुभव आदानप्रदानका गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन सुरु हुनुपूर्व सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया