काठमाडौं
स्पीड क्लाइम्बरको उपाधि सहित गिनिज बुकमा नाम लेखाउन सफल नेपाली आरोही पेम्बा दोर्जे शेर्पाले श्वेताश्री फाउण्डेशनको संस्थागत लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराएका छन् ।
स्व. नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको तस्विर अंकित टि सर्ट पहिरिएर गत जेठ ८ गते पेम्बाको टोलीले उक्त ध्वजा सगरमाथामा फहराएका हुन् । उनको टोलीमा चीन र भारतका १० सदस्य आरोही थिए ।
स्व. नायक श्रीकृष्ण श्रेष्ठ आफ्नो मिल्ने साथी भएको बताउँदै आरोही पेम्बाले आफ्नो साथीको नाममा स्थापित संस्थाले सामाजिक विकासको क्षेत्रमा निक्कै राम्रो काम गरिरहेकोले सो कामलाई हौसला प्रदान गर्न आफूले उक्त संस्थाको नाम सगरमाथाको चुचुरोमा पुर्याएको बताए ।

हामी राम्रो काम गर्नेलाई हौसला दिनु भन्दा हत्तोत्साहित गर्न तत्पर रहन्छौं, उनले भने स्वर्गिय श्रीकृष्णकी पत्नी श्वेता खड्काले माझी बस्ती बनाएर सरकारले गर्नु पर्ने कामलाई आफूले अंगालेकी छिन् । एउटी नारीले नमुना बस्ती बनाउन जुन किसिमको हिम्मत गरिन् त्यो हिम्मतलाई हामीले कदर गर्नुपर्छ । उनकै हिम्मतको कदर गर्दै मैले सो संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पुर्याएको हुँ ।
सामाजिक काम गर्नु भनेको हिमाल चढ्ने काम भन्दा पनि कठिन भएको बताउँदै आरोही शेर्पाले हिमाल चढ्दा खुट्टा तान्नेहरुको संख्या कम हुने तर सामाजिक काममा खुट्टा तान्नेहरु धेरै हुने भएकोले नायिका श्वेता खड्काले हिमाल चढ्ने भन्दा पनि कठिन काम गरिरहेको बताए ।
सबै क्षेत्रबाट नायिका खड्कालाई प्रोत्साहित गर्नु पर्ने मा उनको जोड थियो । सगरमाथाको बाटोमा ढुङ्गाहरु पन्छाएर हिंड्न सजिलो छ तर खुट्टा तान्ने र कुरा काट्ने जमातलाई पाखा लगाएर सामाजिक काम गर्न गाह्रो छ । नायिका खड्काको प्रशंसा गर्दै उनले भने , श्वेताले त्यही कठिन काम गरिरहेकी छिन्, जसलाई हामीले तारिफ गर्नु पर्छ र हौसला पनि दिनु पर्छ ।





























प्रतिक्रिया