प्रधानमन्त्री केपी ओली आज (बिहीबार) भारतको नयाँदिल्ली जाँदै छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले आज नै शपथ ग्रहण गर्दैछ । मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए । यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन् ।भारतले पछिल्लो समय सार्कलाई भन्दा बिम्स्टेकलाई महत्त्व दिन थालेको विश्लेषण कूटनीतिक वृत्तमा गर्न थालिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँग छलफलमा राजदूत निलाम्बर आचार्य र सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी हुनेछन्। आचार्य र भट्टराई ईपीजीका सदस्य हुन् । हैदरबाद हाउसमा हुने भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्ध, क्षेत्रीय चासोलगायत विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन् । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने छन् ।































प्रतिक्रिया