ललितपुर । आईतबार राजधानीमा भएको बम विस्फोटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । घटना भएको एकदिनपछि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका हुन् । उनले विप्लव नेतृत्वको समूहलाई माग के हो भनी प्रश्न गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा माग के हो भनेर सोधेका हुन् । उनले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’
संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको प्रतिक्रिया दिए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको जिकिर छ ।
प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताको विषयमा सरकार संविधानभन्दा विपरीत नजाने बताए । ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन ।’
पत्रकारितामा कतिपय विसंगति देखिएको भन्दै त्यसलाई सुधार गर्न सरकार लागिपरेको बताए । ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सिमा नाघ्न मिल्दैन’ प्रधानमन्त्री ओलीले भने ।































प्रतिक्रिया