काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गरेका छन् । सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारवाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे । दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए ।
त्यस्तै मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्तामा पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराए । उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने बताए । नेता सिटौलाले पार्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँही हुनै नहुने स्पष्ट पारे ।































प्रतिक्रिया