काठमाडौं । ‘बैंकपनि साथीपनि, राम्रोपनि हाम्रोपनि’ भन्ने मूल नाराका साथ बैंकिङ्ग अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ।
बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्ने उद्धेश्यले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममासमेत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।
जसअनुसार भाखा नाघेको ९१ दिनदेखि १८० दिनसम्म १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन सम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढिभए ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना बैंकले सार्वजनिक गरेको हो।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनैपनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले सो योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ। वर्तमान असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवाला आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न एनआइसी बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बैंकले दाबी गरेको छ।
बैंकले ल्याएको सो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भएपनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमासमेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ।































प्रतिक्रिया