स्वास्थ्य मापदण्ड पूरा गरि संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

स्वास्थ्य मापदण्ड पूरा गरि संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्।

आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् । सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनु पर्ने बताए । उनले भने, ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अब पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनु पर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनु पर्छ ।’

कोभिड–१९ को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए। उनले परम्परागतरुपमा संसद चलाउन सम्भावना नभएकाले केही रुपान्तरण गर्नुापर्ने संकेत गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैं रोकेर बस्न नहुने बताए। कोभिडको यो स्थिति कहिले सम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनु पर्ने उनले बताए । उनले अहिलेसम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताए । कोभिडकै कारण संसद बैठक बिचैमा रोक्नु पर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताइन् । संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद सचिवालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण भएको उनको भनाइ थियो ।

संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरि ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरि संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गतेदेखि संसद सेवा दिवस मनाईंदै आएको छ । २०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।

Logo