गहुँमा अग्रिम आयकर फिर्ता लिन नेपाल मैदा उद्योग संघको माग

गहुँमा अग्रिम आयकर फिर्ता लिन नेपाल मैदा उद्योग संघको माग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्याएको कच्चा पदार्थ गहुँमा अग्रिम आयकर फिर्ता लिन नेपाल मैदा उद्योग संघले सरकारसँग माग गरेको छ। गहुँबाट आँटा, सुजी, चक्की आँटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार गरेको संघले जनाएको छ।

कृषिमा आधारीत मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन संघले अनुरोध गरेको छ। ‘औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदा दुबैको भन्सार महसु्ल र अग्रीम आयकर हेर्दा अब कच्चा बस्तुभन्दा तयारी बस्तु नेपालमा आयात गर्न सस्तो (गहुँको कर बढी र मैदाको कर कम) हुने देखिन्छ। जसले गर्दा स्वदेशी मैदा उद्योग धारासाही हुने निश्चित छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा/आँटा देशमा आत्मनिर्भर भएको खाद्य बस्तु हो। कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठूलो लगानी जोखिममा पर्न जाने संघले जनाएको छ।

संघका अनुसार गहुँमा अग्रीम आयकर लगाएको खण्डमा पर्ने असर यस्ता छन् :
१. विगत ५ वर्षदेखि देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने ।
२. समायोजन नगरेको रकम (अग्रिम आयकर र वर्षको तिर्नु पर्ने आयकरको ब्यालेन्स रकम) अर्को वर्षको लागि अग्रेशन गर्न अनुमति दिएको छैन र हामी यसलाई खर्चको रुपमा पनि बुक गर्न सक्दैनौं । यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन ।
३. अग्रिम आयकरको रकम जुनकी आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नुभन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहाँ लागत बढी र बिक्री रकम घटन आउछ जुनकी कुनै हालतमा उपयुक्त देखिदैन ।
४. अतिरिक्त महसुलले मैदा/आँटाको मुल्य बढन गई आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसक्ने ।
५. मैदा/आँटा/चोकरको अवैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजश्वमा नकारात्मक असर पर्न जान्छ ।
६. अर्बौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।
७. स्वदेशी मैदा उद्योग बन्दहुँदा आयातित मैदा/आँटा/चोकरमा भर पर्नु पर्ने र उपभोक्ताले गुणस्तरीय पिठो खानबाट बन्चित हुने ।

स्वदेशी मैदा उद्योगले गहुँमा लागेको २.५० प्रतिशत अग्रिम आएकर थेग्न नसक्ने हुँदा उद्योग बन्द हुने निश्चित रहेको संघले जनाएको छ।

देशमा आत्मनिर्भर भैसकेको स्वदेशी मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर खारेजी गरी मैदा उद्योग संरक्षण गरी दिनु हुन संघले अनुरोध गरेको छ।

Logo