काठमाडौं
यो वर्षको पर्यटकीय मौसममा ३ सय ७५ आरोही सगरमाथा आरोहणमा जाने भएका छन् । आरोहण स्वीकृति लिनेमध्ये १३ जना स्वदेशी रहेको पर्यटन विभागले जनाएको छ । गतवर्ष ३ सय ६६ जनाले आरोहणको अनुमति लिएको विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए । यो सिजनको आरोहण गर्ने समय सुरु हुनै लागेकाले अब थप आरोही अनुमतिका लागि आउने सम्भावना नरहेको उनको भनाइ छ ।
यसैविच सगरमाथा आरोहणको बाटो बनाउन र डोरी टाँग्न गएको टोली साउथ कोल (८ हजार मिटर) सम्म पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । यो टोली सिजनमा सगरमाथाको शिखरमा पुग्ने पहिलो टोली हुनेछ । टोलीले आवश्यक ठाउँमा डोरी तथा भर्याङ राखेर बाटो बनाएपछि मात्र अन्य आरोहीले आरोहण सुरु गर्छन् ।
आरोहीहरू क्रमशः आधार शिविरतर्फ गइरहेका छन् । आरोही र आरोहीको सहयोगी तथा आरोहणको तथ्यांक राख्ने लियाजो अफिसरसहित अब सगरमाथा आधार शिविरमा एक हजार भन्दा बढी पुग्छन् ।
८ हजार ८ सय ४८ मिटर उचाइको विश्वकै उच्च शिखर सगरमाथामा पाइला राख्नु धेरैको सपना हुन्छ । सपना पूरा गर्न दक्षिण र उत्तरतर्फबाट सगरमाथा आरोहण गर्न सकिन्छ । त्यसमध्ये नेपालतर्फ पर्ने दक्षिणी भागलाई आरोहीले बढी महत्व दिन्छन् । तिब्बती क्षेत्रबाट आरोहण गर्ने बाटोलाई उत्तरी बाटो भनिन्छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया