फिदिम
पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकोमा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो ।
हालसम्मम ५५ हजार ९१५ जनाले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ । एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ अभियान शुरु गरिएकोमा ८५ हजार पाँच सय दुई जनाको विवरण सङ्कलन भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको जिल्लास्थित कार्यालयले जनाएको छ ।
वि.सं ०७५ असार ५ गतेबाट शुरु भएको विवरण सङ्कलनको कार्य जिल्लाका ६० वटै वडाका विभिन्न टोलसम्म पुगेको थियो । प्रत्येक नागरिकले बढीमा दुई घण्टा पैदलयात्रा गर्दा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने स्थलसम्म पुग्न सकिने व्यवस्था गरिएको थियो । विवरण दर्ता गर्ने प्राविधिक, प्रमाणिकरण अधिकृत, कार्यालय सहयोगी, सुरक्षाकर्मी लगायतको टोली प्रत्येक शिविरमा दुईदेखि चार दिनसम्म बसेर विवरण सङ्कलन गर्दै आएका थिए ।
शिविरबाट विवरण सङ्कलन भएपश्चात गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले फिदिम–४ की १०२ वर्षीया वयोवृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै वितरण आरम्भ गर्नुभएको थियो । यसपछि राष्ट्रिय परिचयपत्र वितरण गर्ने टोली विवरण सङ्कलनकै शैलीमा शिविर सञ्चालन गर्दै ६० वटै वडामा पुगेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार विश्वका विभिन्न मुलुकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्रत्येक नागरिकलाई प्रदान गरिएको हुन्छ । यसरी प्रदान गरिएको परिचय नम्बरकै आधारमा नागरिकलाई सेवा प्रवाह गर्ने सरकारी प्रणालीको विकास गर्ने लक्ष्य नेपाल सरकारले लिएको हो ।
राष्ट्रिय परिचयपत्र बहुउपयोगी राष्ट्रिय पहिचानयुक्त स्मार्ट कार्ड हो । त्यसमा व्यक्तिको नाम, तस्वीर, दुबै हातका सबै औँलाको छाप, उमेर, लिङ्ग, बाबु, आमा, हजुरबुबा, हजुरआमा, पति वा पत्नीको विवरण समावेश गरिन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।































प्रतिक्रिया