पाकिस्तानलाई समूह चरणबाटै पाखा लगाउने दाउमा भारतमा, यस्तो छ रणनीति [भिडियाे]

पाकिस्तानलाई समूह चरणबाटै पाखा लगाउने दाउमा भारतमा, यस्तो छ रणनीति [भिडियाे]

केन्द्रबिन्दु
24
Shares

आज राति सवा आठ बजे भारत र पाकिस्तान एकअर्काविरुद्ध अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ३४ हजार दर्शकअघि भिड्दै छन् । भारत र पाकिस्तानबीच हुने खेललाई विश्वभरका खेलप्रेमीहरुले निकै चासोका साथ हेर्ने भएकाले आजको खेल दुबैका लागि हार र जितका साथैं विश्वसामु आफ्नो शक्ति प्रदर्शन गर्ने माध्यम पनि हो ।

अघिल्लो पटकको उपविजेता पाकिस्तानले समूहको पहिलो खेल हारिसकेकाले आजको खेलमा भारतविरुद्ध गर या मरको अवस्थामा मैदान भित्र उत्रदै छ । यदि आजको खेल पाकिस्तानले हारेको खण्डमा सुपर ८ को सम्भावना निकै कठिन हुनेछ। अर्कोतर्फ भारतले जितेको खण्डमा ‘सुपर ८’को नजिक पुग्नेछ ।

भारत र पाकिस्तान दुवै टी–२० विश्वकपको पूर्वविजेता राष्ट्र हुन् । यी दुवै राष्ट्रले हालसम्म एक–एक पटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमै पाकिस्तानलाई पाँच रनले हराएर विजेता बनेको थियो । यसदेखि बाहेक भारत सन् २०१४ को विश्वकपको फाइनलमा पुगे पनि श्रीलङ्कासँग ६ विकेटले हार्दै उपविजेतामा सिमित भएको थियो । यस्तै पाकिस्तान पनि सन् २००९ को विश्व विजेता टोली हो । त्यति बेला पाकिस्तानले श्रीलङ्कालाई आठ विकेटले हराउँदै उपाधि जितेको थियो । यसदेखि बाहेक पनि पाकिस्तान दुईपटक टी–२० विश्वकपको फाइनलमा पुगे पनि विजेता भने बन्न सकेको छैन् । अघिल्लो संस्करणको फाइनलमा इङ्ल्याण्डसँग पाँच विकेटले पराजित भएपछि पाकिस्तान उप–विजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

इतिहास हेर्ने हो भने टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारत ५ पटक विजयी भएको छ भने पाकिस्तानले एक खेल मात्र जितेको छ। एक खेल भने अनिर्णीत बनेको थियो।
पाकिस्तानले सन् २०२१ को टी–२० विश्वकपमा भारतविरुद्ध १० विकेटको प्रभावशाली जित हात पारेको थियो। सोही खेलको बदला लिने लक्ष्यका साथ आज भारत मैदान उत्रने छ भने पाकिस्तान पनि सुपर एटको सम्भावनालाई कायम राख्न आजको खेल कुनै पनि हालतमा जित्न हरसम्भव प्रयास गर्नेछ । हाल आइसिसी टी–२० वरीयतामा भारत पहिलो र पाकिस्तान छैटौं स्थानमा रहेको छ ।

क्रिकेटको महाकुम्भ अर्थात टी–२० विश्वकपको माहोल अहिले विश्वभर निकै गर्मागर्मी अवस्थामा आई सकेको छ । १८ ओटा खेल सम्पन्न भइसक्दा अमेरिकाका खेल मैदानमा सोच्नै नसकिने रन, जित र हारको नतिजाहरु निरन्तर आइरहेका छन् । यस्तोमा आजको खेलबाट आउने नतिजाले समूह ‘ए’ बाट भारत, अमेरिका, पाकिस्तान, आयरल्याण्ड र क्यानडामध्ये कुन टोली अघि बढ्ने र कुन टोली समूह चरणकबाटै बाहिरिने भन्ने लगभग तय हुनेछ । किनकी अमेरिका, क्यानडा र आयरल्याण्डले २–२ खेल खेलिसकेका छन् । जसमा ४ अंकका साथ अमेरिका शिर्ष स्थानमा छ भने २–२ अंकका साथ भारत र क्यानडा दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी पहिलो खेल हारेको पाकिस्तान अंक विहिन छ भने दुबै खेलमा हार ब्यहोरेको आयरल्याण्डको ‘सुपर एट’मा पुग्ने सम्भावना समाप्त जस्तै भइसकेको छ । भारत–पाकिस्तानबीचको खेल दौरानमा वर्षा हुने सम्भावना पनि निकै प्रवल छ ।

प्लेयर टु वाच
आज हुने महाभिडन्तमा भारतका लागि विराट कोहली, रोहित शर्मा, ऋषभ पन्त, जसप्रित बुमराहजस्ता अनुभवी खेलाडी छन्, भने अर्कोतर्फ, पाकिस्तानी टोलीमा बाबर आजम, मोहम्मद रिजवान, साहिन शाह अफ्रिदीजस्ता प्रभावशाली खेलाडीहरुको जमघट रहेको छ । सन् २०२१ को टी–२० विश्वकपमा बाबर आजमकै कप्तानीमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

आइतबार हुने पाकिस्तानविरुद्धको खेलमा विराट कोहलीको भूमिका निकै महत्वपूर्ण हुनेछ । यसअघि आयरल्यान्डविरुद्धको पहिलो खेलमा विराटलाई ओपनर ब्याट्सम्यानको रुपमा ल्याइएता पनि उनले एक रन मात्र बनाउँदै आउट भएका थिए। पाकिस्तानविरुद्ध आज हुने खेलमा विराटलाई ओपनरकै भूमिकामा देख्न सकिने सम्भावना प्रवल रहेको छ । पाकिस्तानविरुद्ध कोहलीले अहिलेसम्म टी–२० विश्वकपमा पाँच खेल खेलेका छन् । त्यसमध्ये एक खेलमा मात्र उनी आउट भएका छन् ।

यसैगरी भारतीय बलर जसप्रित बुमराहले पाकिस्तानविरुद्ध टी–२० विश्वकपमा अहिलेसम्म दुई खेल खेलेका छन् । त्यसमा पनि उनले एक विकेट मात्र लिएका छन् । तर, जारी विश्वकपको पहिलो खेलमा बुमराहले आयरल्यान्डविरुद्ध तीन ओभर गर्दै ६ रन खर्चिएर दुई विकेट लिएका थिए।

यस्तै, पाकिस्तानी टोलीमा साहिन शाह अफ्रिदी मोहम्मद आमिर, ह्यारिस रउफ, नसिम शाहजस्ता प्रभावशाली तीव्र गतिका बलर छन् । भारतीय ब्याट्सम्यानका लागि यी बलर जुनसुकै बेला पनि घातक बन्न सक्छन्। यद्यपि, पछिल्लो समय भारतीय टोलीको तुलनामा पाकिस्तानको लय केही खस्किएको देखिन्छ ।

Skip This
Skip This
Logo