काठमाडाैं । आँगन टेढो होस्, बांगो होस्, उल्टो होस् वा हुँदै नहोस् राजेश दाइलाई नाच्न आउँछ । यो जोक्स नेपाली फिल्म जगतका सदावहार महानायक राजेश हमाललाई लिएर बनाइएको हो । नेपाली फिल्म क्षेत्रमा तीन दशक एकक्षत्र राज गरेका महानायक राजेश हमाललाई नेपाली समाजमा नचिन्ने कमै होलान ! साधारण मानिसको मन मस्तिष्कमा बस्न सफल महानायक हमालाई लिएर मौसम अनुसारका जोक्स बनेका छन् । कहिले भुइँचालोका जोक्स बने त अहिले कोभिड–१९ लाई लिएर बने । त्यति मात्रै हाईन, बजारमा के ट्रेन्डिङमा छ, त्यो विषयमा राजेश हमाललाई जोडेर जोक्स बनिहाल्छन्। त्यसैले त उनलाई लाग्छ यो श्रृंखला लामो समयसम्म चल्न सक्छ।
केही मानिसलाई आफु माथि बनेका जोक्स या भनौ आफ्नो मजाक बनेको मन पर्दैन । यहाँ रोचक कुरा के छ भने हाम्रा महानायक राजेश हमाल भने आफु माथि बनेका जोक्समा निकै रमाउने गर्छन ।
अनेकौंमा एक राजेश हमाल आफैंमा यस्ता छन्, जसलाई तपाईंहामीले कुनै एक पाटोबाट हेरेर मूल्यांकन गर्न सक्दैनौं । उनी ठट्यौली गर्नमा जति माहिर देखिन्छन् बौद्धिक बहसमा उत्तिकै तिख्खर छन् । सधैं तन्दुरुस्त, सधैं ऊर्जावान्, सधैं शान्त देखिने राजेश हमाललाई वाक्कौशल, सौम्य व्यक्तित्वले पनि अझ अग्लो बनाएको छ ।साथै आम मान्छेको आवाज बोलिदिने नायकको रूपमा पनि उनले आफ्नो छवि निर्माण गरेका छन् ।
‘मलाई लाग्छ कि जोक्सको श्रृंखला यसरी नै गइरह्यो भने म नरहेपनि यो जारी रहिरहन्छ । एक जमानामा राजेश हमाल थियो रे भनेर पनि चल्न सक्छ। पुस्तौसम्म किंबदन्ती जस्तो हुनसक्छ,’ राजेशले भनेका छन् ।
उनलाई आफ्नैबारे जोक्स लेख्ने इच्छा समेत रहेछ। कुनै बेला समय मिलेमा वस्तुगत हिसाबमा जोक्स लेख्ने उनको इच्छा छ।उनका विषयमा आएका जोक्स उनी मात्रै पढ्दैनन्, श्रीमती मधु भट्टराईलाई समेत देखाउँछन्। जोक्स पढ्छन् र दुवै जना मज्जाले हाँस्छन्।
आउनुहोस्, उनै सर्वप्रिय अभिनेताराजेश हमालका केही जोक्सहरु सुनौं–
१० तला माथिबाट हाम फाल्दा
एकपटक के भएछ भने राजेश हमाल, अल्बर्ट आइन्स्टाइन र थोमस अल्वा एडिसनबीच प्रतिस्पर्धा चलेछ, १० तला माथिबाट हाम फाल्ने । पहिले थोमस तयार भए, तर सकेनन् । डराएर भागे । दोस्रोमा अल्बर्ट आए । ऊ पनि डराएर पछाडि हटे । अब राजेश हमालको पालो आयो । उनी राम्ररी तयार पनि भएका थिएनन्, हाम फालिहाले । उनलाई अस्पताल भर्ना गरियो । पत्रकारले अस्पतालमा पुगेर सोधे, ‘तपाईंले बहादुरी देखाउनुभो । कसरी त्यतिका माथिबाट हाम फाल्ने हिम्मत गर्नुभो ?’राजेश हमाल जंगिए, ‘पहिला यो भन कि मलाई पछाडिबाट कसले धकेल्यो ?’
टाउको सेभ गरिदेउ
राजेश हमाल – कपाल काटेको कति रुपैयाँ हो भाइ ?
हजम – ६० रुपैयाँ हो ।
राजेश हमाल – अनि सेभ गरेको नि ?
हजाम– त्यो त जम्मा २० रुपैयाँ हो ।
राजेश हमाल– त्यसो भए मेरो टाउको सेभ गरिदेऊ ।
चाउमिन खान त्रिशूल
महादेव भोकाएर बसेका थिए । भक्तले सोधे– प्रभु तपार्ईंको त्रिशूल खोइ ?
महादेव– राजेश हमालले लगेको छ ।
भक्त– किन ?
महादेव– चाउमिन खानका लागि रे !
कालो बनाइदिनु
एकदिन राजेश हमाल, रजनीकान्त र अजय देवगन हिमाल यात्रामा थिए । त्यही बखत पर्वतमा शिवजीसँग भेट भयो । भगवानले भने, ‘एक–एक वटा बरदान माग, म पूरा गरिदिन्छु।’
रजनीकान्त अगाडि सर्दै भने, ‘भगवान् मलाई गोरो बनाइदिनुहोस् ।’
महादेवले ‘तथास्तु’ भने । उनी तुरुन्तै गोरो भए । अजय देवगनको पालो आयो ।
अजय देवगनले भने, ‘मलाई पनि गोरो बनाइदिनुहोस् ।’ उनी पनि तुरुन्तै गोरो भए । अब राजेश हमालको पालो थियो । महादेवले सोधे– ‘भन तिमी के बरदान माग्छौ ?’
राजेश हमालले तुरुन्तै जवाफ दिए, ‘यी दुवैलाई कालो बनाइदिनुहोस् ।’
एकदिन एउटा किसानले आफ्नो धानबारीमा राजेश दाइको बुख्याचा बनाएर राखेछ, अनि थाहा छ के भयो ? भोलिपल्टदेखि सबै चराले पहिले–पहिले लगेको धान पनि फिर्ता ल्याइदिएछन्। भनिन्छ यो वास्तविक घटनामा आधारित छ ।
यी बाहेक राजेश हमालका विषयमा बनेका केही उखान टुक्का यस्ता छन्–
राजेश दाइको गोरुको सिंग नभए पनि त्यसलाई तिखे नै भनिन्छ ।
आँगन टेढो होस्, बांगो होस्, उल्टो होस् वा हुँदै नहोस् राजेश दाइलाई नाच्न आउँछ ।
राजेश दाइ रातभरि कराउनुभयो भने दक्षिणामात्र होइन, हामी सबै हराउँछौं।
हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात, राजेश दाइले रोपेको बिरुवाको पात, हाँगा, जरा, माटो सबै चिल्लो ।
राजेश हमालबाहेक जो चोर उसको ठूलो स्वर ।































प्रतिक्रिया