काठमाडौं ।
शनिबारदेखि बजारमा कुखुराको मासुको मूल्य बढेको छ । शुक्रबारसम्म खुद्रा मूल्य प्रतिकेजी ३ सय रुपैयाँ रहेको थियो । तर बजारमा व्यापारीहरुले शनिबारदेखि प्रतिकेजी ५० रुपैयाँले बृद्धि गरेर ३५० रुपैयाँमा उपभोक्तालाई बेचिरहेका छन् । यता, राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भने कुखुराको मासुको मूल्य ३० रुपैयाँ मात्रै बढाएको जनाएको छ ।
कुखुराको मासुको मूल्यमा पछिल्लो ६ महिनादेखि उतार चढाव आइरहेको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बेलामा अत्याधिकरुपमा गिरावट आएको थियो । यतिबेला कुखुरापालक किसानले आफैंले पालेका कुुखुराको मासुले बजार नपाएपछि खाल्डोमा गाड्नु परेको थियो ।
तर लकडाउनको केही समय पश्चात बजारमा कुखुरा मासुको अभाव हुन थालेपछि महिनामा १० पटकसम्म मूल्य बृद्धि हुँदै आएको थियो । दशैं भन्दा अगाडि मासुको मूल्य घटेर गुन्द्रुकको मूल्य भन्दा पनि सस्तो भएको थियो । त्यसबेला कुखुराको मासुको मूल्य प्रतिकेजी १९० रुपैयाँसम्म पुगेको थियो । पछिल्लो एक सातादेखि बजारमा मासुको माग बढ्दै गएको र जिउँदो कुखुरा पाउन छोडेकाले मासुको मूल्य बढाउनु परेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जगबहादुर बीसीले बताए ।
उनका अनुसार अहिले कुखुरा किसानहरुले चल्लाहरु पाल्न नहाल्ने भएकाले बजारमा कुखुराको अभाव भएको र होटल, पार्टी प्यालेसहरु पनि सञ्चालनमा आएकाले बजार मूल्य बढेको हो । उनले भने, ‘संघले शनिबारदेखि लागू हुने गरी प्रतिकेजी ३० रुपैयाँले मात्रै बढाएको छ । बजारको स्थिति हेरेर अझै बढ्न सक्छ ।’
यता व्यापारीहरुले पनि बजारमा कुखुरा नआएकाले नै खुद्रा मूल्य बढेको बताएका छन् । तर बजारमा हरेक वस्तुको मूल्य बृद्धि हुँदै गएकाले उपभोक्ताहरु मारमा परेको बताएका छन् । उनीहरुले बिचौलिया व्यापारीले गर्दा बजारमा कुखुरा र मासुको मूल्य बढाउनका लागि अभावको बाहाना बनाइएको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।
यसरी बारम्बार विभिन्न बाहाना बनाएर व्यापारीहरुले बजारमा मूल्य बढाउँदा बजार नियमनकारी सरकारी निकाय भने मौन बसेको छ ।





























प्रतिक्रिया